महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा

भक्तपुर, भाद्र १०
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आज (बिहिवार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको माहोल तयार गर्नुपर्ने बेला धर्नामा बस्नुको औचित्य नभएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’
उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरु उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको आरोप लगाउँदैं आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुरमा क्रियाशिल वितरण सर्वसम्मत रुपमा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुरमा हामीले क्रियाशिल र नविकरण पनि केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं । भक्तपुरमा क्रियाशिलको विवाद छैन् । तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेका हौं । हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरुलाई पनि उचित रुपमा समायोजन गरेकै हो, यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सहमहामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो ? कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’
थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भन्नुभयो, ‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मतीले १४औं महाधिवेशनको मिति तय भएको छ । क्रियाशिल सदस्यताको विवाद पनि समाधान भएको थियो । देशभरिका साथीहरु हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरु किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’
उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशिल सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराउनुभयो ।