सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध

भक्तपुर, भाद्र १
भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर सल्लाघारीको १०८ रोपनीको खुल्ला क्षेत्रमा पार्किङ व्यवस्थाको लागि प्रतिवेदन तयार गरेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । ‘काठमाण्डौं महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पार्न चाहन्छ,’ नगरपालिकाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रुपले काठमाडौं महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नुलाई खेदजनक विषय भएको बताएको छ भने ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी भएको आरोप लगाएका छन ।
विज्ञप्तीमा गत साउन ३२ गते महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको प्रतिनिधि मण्डलले नगरप्रमुख सुनिल प्रजापतिसँग भेटघाट गरेको र सो भेटमा विभिन्न विषयमा छलफल हुनुका साथै यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलको विषयमा पनि सामान्य छलफल भएको जनाउँदैं सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिएको जनाएको छ ।
छलफलमा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसँग गहन छलफल गरी उपयुक्त ठाउँमा टुंगो लगाउनुपर्ने तथा बसपार्क क्षेत्रमा हुने वातावरणीय र साँस्कृतिक प्रदुषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने पनि सुझाव दिएको जनाएको छ ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरुकोसमेत व्यवस्था गरी संरक्षण गर्दै आएको जनाउँदैं काठमाण्डौ महानगरपालिकाको यातायात संचालन सम्बन्धी अध्ययन कार्यदलद्वारा सहमति विना यातायात सञ्चालनसम्बन्धी प्रतिवेदन पेश गरेको भन्दै प्रतिवेदनलाई भक्तपुर नगरपालिकाले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रुपमा लिएको छ ।
‘भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क सञ्चालन गर्ने काठमाण्डौं महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु संघीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्त विपरीतसमेत रहेको प्रष्ट पार्न चाहन्छ,’ विज्ञप्तीमा उल्लेख छ ।