कम्बोडिया पठाउने बहानामा ठगी गरेको आरोपमा मोक्तान पक्राउ

भक्तपुर, साउन ३२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कम्बोडिया पठाई दिन्छु भनी रकम ठगेको आरोपमा एक जनालाई आज (सोमवार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, गोकुले घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने २८ वर्षिय मिनध्वज भन्ने विचारमान मोक्तान हुन ।
मोक्तानलाई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, चिसापानी बस्ने ३६ वर्षिय प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया पठाई त्यहाँको क्यासिनोमा काम लगाईदिन्छु भनी प्रतिव्यक्ति ६ लाख ५० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाले बताउनुभयो ।
मोक्तानलाई वैदेशिक रोजगार विभागको अनुरोधमा नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि विभागमा नै बुझाएको एसपी कोइरालाले जानकारी दिनुभयो ।