राष्ट्रपति गनीले अफगानिस्तान छाडे

भक्तपुर, साउन ३१
अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन । तालिवान लडाकुहरुको समूह राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति गनीले देश छाडेको अफगानी अधिकारीहरुलाई उद्धृत गरिएका विवरणहरूका आधारमा बिबिसीले जनाएको छ । राष्ट्रपति गनीसँगै उपराष्ट्रपतिले पनि देश छाडेको अनुमान गरिएको छ ।
अफगानिस्तानमा दश दिनको अवधीमा प्रमुख शहर र प्रान्तिय राजधानीहरु तालिवानको कब्जामा पुगेको थियो । सोही कारण राष्ट्रपति गनीमाथि राजिनामाको दवाब बढेको थियो ।
बिबिसीका अनुसार राष्ट्रपति गनी कहाँ जाँदैछन भन्ने बारे स्पष्ट भएको छैन तर केही रिपोर्टहरूमा उहाँ छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको छ ।


यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । साथै तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो ।
उता अफगान राष्ट्रपतिको कार्यालयले आइतवार दिउँसो स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो । राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।”
केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् ।


तालिबानको तीव्र आरोह
एप्रिलः अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा । मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो ।
मेः तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण । अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात ।
जुनः तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ । उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण ।
२१ जुलाईः एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा ।
६ अगस्टः लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी ।
१३ अगस्टः दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा ।
१४ अगस्टः उत्तरी सहर मजार–ए–शरिफमाथि तालिबानको कब्जा ।
१५ अगस्टः युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा ।
बिबिसीको सहयोगमा