हार्डवेयरमा चोरी गर्ने दुईजना पक्राउ

भक्तपुर, साउन ३१
मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा रहेको आकृति हार्डवेयरमा चोरी गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विरेन्द्रनगर नगरपालिका–३ घर भई हाल काठमाण्डौ कपन बस्ने ५१ वर्षिय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–६ घर भई हाल काठमाण्डौ कपनमा नै बस्ने ४२ वर्षिय छिरिङ शेर्पा छन ।


उनीहरुलाई महानगरिय प्रहरी वृत्त थिमिका प्रहरी निरिक्षक पञ्चलाल गोले नेतृत्वको टोलीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो । तामाङ र शेर्पाले गत साउन १५ गते अर्घाखाँची भुमिकास्थान नगरपालिका–४ घर भई काठमाण्डौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने पवित्रा भुसालको आकृति हार्डवेयरबाट नगद एक लाख र नेपाल बैंकको ३५ हजारको चेक चोरी गरी फरार भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
सामान किन्ने बहानामा पसलमा पुगेका तामाङ र शेर्पाले पसलधनीलाई अल्मल्याई पसलको घर्राबाट नगद चोरी फरार भएको प्रनाउ गिरीले बताउनुभयो । पिडितले दिएको हुलियाको आधारमा अनुसन्धान गर्ने क्रममा प्रदेश ३–०२–००३ प १९९० नं. को स्कुटरमा चढी शंकास्पद गतिविधी गर्दै हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।