मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको छ – पूर्व गभर्नर डा. नेपाल

काठमाडौं, साउन ३०

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताउनुभएको छ । उहाँले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र कोभिडले पारेको असरलाई राहत प्याकेजको रुपमा आएको स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले कोभिडले गर्दा यो अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहना रहेको र सोहीअनुसार मौद्रिक नीति आएको बताउनुभयो । तल्लो वर्गलाई सम्बोधन गर्नेगरी अबको बजेट आउनुपर्नेमा उहाँको जोड छ । कोभिडको तेस्रो लहरमा हिजो आएको मौद्रिक नीतिले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने पनि नेपालले विश्वास दिलाउनुभयो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंक सुविधा÷सहुलियत दिने संस्था होईन । त्यो तपाईँहरु प्रष्ट हुनुपर्छ । सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको राज्यले हो । सरकारले हो । त्यो भनेको बजेटमार्फत नै हो ।’ उहाँले अप्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकता महशुस भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रा स्फितीलाई कन्ट्रोलमा राख्ने, वित्तिय स्थायित्व हेर्ने हो । भोली वित्तिय स्थायित्व खलबलियो भने संसारलाई कसैले दोष दिँदैन्, केन्द्रीय बैंकलाई नै दिईन्छ ।’
उहाँले पुँजी बृद्धिको कारण जोखिम बहन गर्ने क्षमता बृद्धि भएको स्मरण गराउनुभयो । उहाँले सरकारले आर्थिक बृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्र भनेको नै रेमिटेन्समा आधारित छ, आर्थिक क्रियाकलाप नबढ्नुञ्जेलसम्म सामानहरु महँगो हुन्छ । पेट्रोलियम पदार्थहरु सबै महँगो हुँदैछ । भारतबाट आउने भएकाले नेपालमा त महँगो हुने निश्चित् छ ।’
उहाँले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रिस्क लिएर व्यापार व्यवसाय गर्न जाँदैन्, खोप नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । यसलाई मध्य नजर गरेर कार्यक्रम ल्याउनुपर्छ ।’ उहाँले मौद्रिक नीति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
अर्का पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले साउनको पहिलो हप्ता आउनुपर्ने मौद्रिक नीति किन ढिलाई आयो ? भनेर चर्चा भएको भएपनि ढिलै भएपनि आएकोले अब कार्यान्यवनको पाटोमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा धेरैभन्दा धेरै पैसा आउँछ, वस्तु र सेवाभन्दा बढि पैसा आउँछ, त्यतिवेला मुद्रा स्फिती चर्किएर जान्छ । सरकारले त्यतिवेला जिम्मा लिन चाहँदैनन् ।’
मौद्रिक नीतिमा राहत र पूनःस्थापनाबारे कुरा गरिएपनि सोअनुरुप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बढेको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकत्ता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना, लघु, मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने भनिएको छ, यो राम्रो कुरा हो ।’
यसपटकको मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरु अघि बढ्छौं भनेर आश्वासन दिईएको पनि क्षेत्रीको भनाई छ । उहाँले अर्थमन्त्री जनार्दन शर्मा जनयुद्धको कमाण्डर भैसकेको व्यक्ति भएकोले र उनले ‘म पैसाको लालच गर्दिन्, काम गर्नुहोस, म विभेद गर्दिन’ भनेर कर्मचारीलाई भनेकोले मन्त्री शर्मा अनुशासनमा रहे राम्रो काम हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ आफूले भनेजस्तै राम्रो अनुशासनमा रहनुभयो भने काम राम्रो हुन्छ ।’ उहाँले मौद्रिक नीति कार्यान्वयनको पक्ष जटिल हुने भएकोले कार्यान्वयनमा नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।