भक्तपुरमा गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने

भक्तपुर, साउन २९
यसवर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र साँपारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न भक्तपुर नगरपालिकाले सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।
कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको बैठकले सो अनुरोध गरेको हो ।
बैठकले साँपारुको दिन मृतकको स्मरणमा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा कोभिड संक्रमणले नेपालमा १० हजार भन्दा बढीले ज्यान गुमाइसकेको बताउँदैं नगरप्रमुख सुनिल प्रजापतिले पछिल्ला केही दिन यता भक्तपुरमा पनि दैनिक रुपमा कोभिडका बिरामी बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले कोभिड संक्रमितहरूको लागि सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको सेवा प्रभावकारी बनाउन जनताको सहयोगमा अक्सिजन प्लान्ट जडान गरी उत्पादन गरी सकेको जानकारी दिँदैं भन्नुभयो, “बढी भीड जम्मा हुने जात्रा, पर्वहरूले संक्रमण फैलिने खतरा रहन्छ । कोभिडलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ ।”


भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको र हाल ख्वप अस्पताल कोभिड युनिटमार्फत कोभिड संक्रमित तथा अन्य बिरामीहरूको उपचार सेवा प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले यहाँका जात्रा, संस्कृति, पर्व र सभ्यता जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । धर्म, पर्व, संस्कृतिलाई भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्नुपर्नेमा जोड दिँदैं उहाँले कोभिड संक्रमणको दर उच्च रहेको हुँदा गत वर्ष जस्तै यस पटक पनि गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न आग्रह गर्नुभयो ।
बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई पनि गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयम्सेवकहरू परिचालन गर्नुपर्नेलगायतका राय—सुझावहरू प्रस्तुत गरेका थिए ।