नवदुर्गा देवगणको नकीं विवाद सहमतिमा समाधान, छेमा पुजा गरी जात्राको प्रक्रिया थाल्ने

लक्ष्मी गारु, भक्तपुर, साउन २७
भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको हो ।
जात्रा सञ्चालनका लागि छेमा पुजा गरिने र जात्राका सबै विधि विधान र प्रक्रिया तत्काल थाल्ने सहमति समेत भएको छ ।
स्थानीय जनप्रतिनिधि, नवदुर्गा देवगणसँग सरोकार राख्ने विभिन्न समूहको संयुक्त प्रयासले मंगलवार नकीं छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएको हो । सहमति अनुसार नवदुर्गा द्योछेंको नकींमा ईन्दिरा बनमाला नियुक्त भएकी छिन । नकींमा दावी गर्ने हरिगोविन्द वनमालाको परिवारलाई अबको पाँचौं वर्षमा नकींको पालो दिने सहमति भएको भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वःले बताउनुभयो ।
सहमति अनुसार इन्दिरा वनमालाले उच्च अदालत पाटनमा दायर गरेको रिट फिर्ताको लागि हरिगोविन्द वनमालाको सहमतिमा मंगलवार नै निवेदन दिएको जनाएको छ ।
नवदुर्गा द्योछेंमा मंगलवार साँझ सरोकारावाला सबै पक्षको सहभागितामा ४ बुँदे सहमति भएको जानकारी दिँदैं वडा अध्यक्ष ज्याख्वले भन्नुभयो, आगामी दिनमा पनि यस्ता समस्या आए स्थानीय रुपमै समाधान गर्ने र प्रशासन वा अदालतमा नजाने सहमति समेत भएको छ ।’
सहमति अनुसार यसवर्ष नकीं पालो परेका शेरबहादुर भन्ने श्रीबहादुर वनमालाको तर्फबाट नकीं नियुक्त इन्दिरा वनमालाले झौर पालो वर्ष २०८३ सालमा यसवर्षका अर्का दावीकर्ता हरिगोविन्द वनमालाको परिवारलाई नकीं पालो दिने भएको छ । साथै हरिगोविन्दको नकीं पालोमा प्रत्येक ३६ वर्षमा एक पटक आउने ईना पालोमा हरिगोविन्दले पाउने की नपाउने भन्नेमा गोला प्रथा गर्ने र हरिगोविन्दले पाउने भएमा हरिगोविन्द, श्रीबहादुर र जयमल वनमालाले प्रत्येक १२÷१२ वर्षमा नकीं पालो चलाउने सहमति भएको छ । तर गोलाप्रथा गर्दा हरिगोविन्दले नपाउने गोला परेमा त्यस उप्रान्त हरिगोविन्दले कहिले पनि नकीं पालोमा दावी गर्न नपाउने सहमति समेत भएको वडाअध्यक्ष ज्याख्वले बताउनुभयो ।
सहमतिपत्रमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँ, ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वः, वडा नं. ९ का पुर्व वडाअध्यक्षहरु कृष्णभक्त लवजू, विष्णुबहादुर मानन्धर, नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् इना पालो नायो वृजेश वनमाला, ईन्द्रबहादुर वनमाला नायो झौर पालो, बुद्धिबहादुर वनमाला नायो क्वाठण्डौं पालो, कृष्णकुमार वनमाला नायो क्वछें पालो, भैरवबहादुर वनमाला नायो क्वछें पालो, सूर्यबहादुर वनमाला नायो क्वाठण्डौं पालो, हरिकृष्ण वनमाला, अमरकृष्ण वनमाला, नारायणमान वनमाला, देवगणगुरुहरु दयाराम वनमाला, शिवभक्त वनमाला, वनमाला समाज सेवा समितिका अध्यक्ष आशाकाजी वनमाला, उपाध्यक्ष गोविन्द वनमाला, कोषाध्यक्ष तुल्सीरामा वनमाला, नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमाला, रिट निवेदकहरु हरिगोविन्द वनमाला, कृष्णराम वनमाला, कृष्णसुन्दर वनमाला र श्रीबहादुर वनमालालगायतले हस्ताक्षर गरेका छन ।