पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सम्पन्न – अमेरिका शीर्ष स्थानमा

भक्तपुर, साउन २५
विश्व खेलकुदको कुम्भमेला गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा आइतवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी, विभिन्न संघ संस्थाको विरोधका बावजुद भव्य र सभ्य रुपमा सम्पन्न टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
ओलम्पिकको ३३ औं संस्करण सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने छ । जापानको राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले ओलम्पिक झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गर्दै पेरिसमा तीन वर्ष पछि भेट्ने वाचा गरे ।
उनले सो अवसरमा जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए । उनले ओलम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान उपहार आशा दिएको टिप्पणी गरे । कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए।
टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले चीनलाई उछिन्दैं पदक तालिकामा शिर्ष स्थान कब्जा गरे । अमेरिकाले ३९ स्वर्ण ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक जिते । दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक हात पारे ।
आयोजक जापानले तेस्रो स्थान हात पारे । जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्यो । जापानको यो ओलम्पिक इतिहासमै उत्कृष्ट नतिजा हो ।

त्यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित कुल ६५ पदकका साथ चौंथो, रसियन ओलम्पिक कमिटि २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
अष्टे«लियाले १७ स्वर्ण, ७ रजत र २२ कास्यसहित ४६ पदक जितेर छैटौं स्थान हात पारे । सातौं स्थानको नेदरल्यान्ड्सले १० स्वर्ण, १२ रजत र १४ कास्य जिते । आठौं स्थानको फ्रान्सले १० स्वर्ण, १२ रजत र ११ कास्य जिते । १० स्वर्ण, ११ रजत र १६ कास्य जितेको जर्मनी नवौं स्थानमा रहे भने दशौं स्थानको इटालीले १० स्वर्ण, १० रजत र २० कास्यसहित ४० पदक जिते ।
दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण पदक जिते भने ८६ राष्ट्रले कुनै न कुनै पदक जिते ।
बहराइन, साउदी अरब, लिथुवानिया, उत्तर म्यासेडोनिया, नामिविया र तुर्कमेनिस्तानले एक एक पदक जिते जुन स्वर्ण पदक रहेको छ । त्यस्तै कुवेत, सिरिया, मोल्डोभा, ग्रेनेडा, घाना, आइभरीकोष्ट, बोट्स्वाना र बर्किना फासोले एक एक कास्य पदक जिते ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सहभागी खेलाडीहरु मध्ये पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएपनि दोस्रो चरणमा पुग्न सकेन । जुडोकी सोनिया भट्ट पहिलो चरणमा नै पराजित भइन भने एथलेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन सामान्य रह्यो ।