सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ

भक्तपुर, साउन २०
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट बुधवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षिय साकिर अली, २८ वर्षिय अब्दुल सतार र २४ वर्षिय प्यार मोहम्मद छन ।

प्रहरीले उनीहरुको साथबाट सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको रोल ८ थान, बिस्कुट आकारको पाता एक थान र थप दुई टुक्रासहित पाँच सय दरका २११ थान भारतीय रुपैंया बरामद गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
साकिर अली समेतले अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएको र सो सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट उनीहरुलाई पक्राउ गरिएको एसपी कोइरालाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी बिभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाई स्वरुप समेत परिवर्तन गरी भन्सार छली सुन ल्याउने गरेको बुझिएको एसपी कोइरालाले बताउनुभयो । महाशाखाले पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।