व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न

भक्तपुर, साउन २०

भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ ।
नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान कर व्यवस्था र आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा उद्यमी व्यवसायी र वरिष्ठ लेखा परीक्षकहरुबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले राज्यले निर्दिष्ट गरेका ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीहरु जानकार भईराख्नु पर्ने बताउनुभयो । उहाँले यस्ता ऐन नियमहरुका बारेमा उद्यमी व्यवसायीलाई सू–सुचित गर्नुपर्ने दायित्व चेम्बरको पनि भएकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


नेपाल अडिटर्स एसोसियसन भक्तपुरका अध्यक्ष एवं वरिष्ठ लेखा परीक्षक हिरा काजी बज्राचार्यले करको दायराबाट कोही पनि उम्किन नसक्ने बताउँदैं करका विषयमा जोकोही पनि जानकार भएर बस्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
एसोसियसनका सचिव ज्ञानकृष्ण श्रेष्ठले आर्थिक अध्यादेश २०७८ ले परिमार्जन गरेका कर नीति विषयमा प्रस्तुतीकरण दिँदैं उद्योग व्यवसायमा हिसाव कितावहरु चुस्त दुरुस्त भएको अवस्थामा करमा खासै समस्या नहुने र कर बचत गर्न सकिने प्रावधानहरु पनि धेरै रहेको बताउनुभयो ।
भक्तपुरका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा एसोसियसनका केन्द्रिय सदस्य चन्द्रभक्त श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास धौबजी, सचिव सुरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारहरुले कर नीतिका विविध पक्षहरुका बारेमा बोल्नु भएको थियो ।