अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने

भक्तपुर, साउन १९
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार सन् २००० अगष्ट १२ देखी प्रत्येक वर्ष यो दिवस मनाईंदै आएको छ । यसवर्ष यो दिवसको नारा ‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ रहेको छ ।
दिवसको अवसरमा परिषदले ११ दिन विभिन्न कार्यक्रम आयोजना गरिने परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले बताउनुभयो । परिषदमा आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले साउन १८ गते कलाकार अभिमुखीकरण कार्यक्रम आयोजना गरी दिवसको शुभारम्भ गरेको बताउनुभयो । उहाँले साउन २० देखी २८ सम्म भिडियो निर्माण प्रतियोगिता, २२ गते ‘वैदेशिक रोजगार ः वरदान की अभिशाप’ विषयमा अन्तरक्रिया, २३ गते रक्तदान बसुन्धरा र कलंकीमा हुने जानकारी दिनुभयो ।
त्यसैगरी साउन २४ र २५ युवा जागरण लोकदोहरी प्रतियोगिता, साउन २४ गते सहुलियतपूर्ण कर्जाका अवसर र चुनौती विषयक सरोकारवालाहरुका बिच अन्तरक्रिया, साउन २५ गते स्थानीय उत्पादन ः खाद्य प्रणालीमा रुपान्तर विषयक वक्तृत्वकला प्रतियोगिता, २५ गते यौनिक तथा अल्पसंख्यक समूहसँगको अन्तरक्रिया, २६ गते बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भूमिका विषयमा अन्तरक्रिया हुने भएको छ ।
दिवसकै अवसरमा साउन २६ गते अपांगता भएका युवाहरुको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया, २७ गते युवा र उद्यमशिलता संवाद, २६ र २७ गते खाद्य प्रणालीको रुपान्तरणमा युवा नवप्रवर्तक कार्यशाला र २८ गते मुल समारोहका साथै नेपालमा युवाको वर्तमान अवस्थाः चुनौती र अवसरमा संवाद कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रममा उपाध्यक्ष पौडेलले युवाहरुलाई नेपालमै उद्यम बनाउन परिषदको पहलमा विभिन्न ८ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति ल्याएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई नेपालमै स्वरोजगार बनाउन परिषदले रिटर्नी माइग्रेन्ट्स नेपाल गठन गरी कार्य गरिरहेको बताउनुभयो ।
उहाँले परिषदको बजेट सानो आकारको भएपनि यसले समन्वयकारी भूमिका निर्वाह गरी अर्बौ रकम बराबरका योजनाहरु कार्यान्वयनको तहमा लैजान सफल भएको दावी गर्नुभयो ।