जसपाको आधिकारिकता यादव समूहलाई

भक्तपुर, साउन ११
जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ । निर्वाचन आयोगले जसपाको कार्यकारिणी सभाको बहुमतको आधारमा यादव समूहलाई आधिकारिकता दिएको हो ।
आयोगले निर्णय गर्नुअघि जसपाका कार्यकारिणी सभाका सदस्यहरुलाई नागरिकता सहित सशरीर उपस्थित हुन आदेश दिएको थियो । सो अनुसार आज (आइतवार) जसपाका कार्यकारी सभाका सदस्यहरु आयोगमा उपस्थित भएका थिए ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी सभा सदस्यहरु मध्ये यादवको पक्षमा ३४ जनाले सनाखत गरेका थिए भने अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका थिए । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बस्नुभएको थियो ।