प्रधानमन्त्री देउवाको नक्कली फेसबुक र ट्विटर आईडी बनाउनेलाई कारवाही हुने

भक्तपुर, साउन १०
प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कली फेसबुक र ट्विटर आईडी निर्माण गरी भ्रमपूर्ण सन्देश प्रवाह गर्ने कारवाही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले अनुसन्धान गर्ने भएको छ ।
प्रधानमन्त्री देउवालाई बदनाम गराउन सक्रिय व्यक्तिले शपथ ग्रहणको तस्विर राखेर फेसबुक र ट्विटर सञ्चालन गर्दै आएको छ । ती व्यक्तिले नेकपा एमाले नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिएको र कोरोनाको खोप सबै नेपाली नागरिकलाई निःशुल्क दिने सम्बन्धी भ्रमपूर्ण सन्देश पठाउने गरेको पाईएको छ ।
यस सम्बन्धमा छानविन गरी दोषीलाई कारवाही गर्न सिबिआईमा उजुरी गरी सकेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले बताउनुभयो । सचिव तिवारीले नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम गर्ने प्रयास भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाको नक्कली आईडी बनाउने व्यक्तिले ‘हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो । उहाँले विश्वासको मत दिन खुला आह्वान गरेर मलाई जिताउन भूमिका निर्वाह गरेको सत्य हो । त्यसैले केही साइबर सेनाहरूले विरोध गरे पनि गरून्, उहाँलाई अझ एक करोड रुपियाँ उपचार खर्च थप्दिन्छु,’ सन्देश प्रवाह गरेको छ । जब की पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिने निर्णय के पी शर्मा ओली नेतृत्वको पुर्ववर्ती सरकारले गरेको थियो ।
यसैगरी अर्को नक्कली सन्देशमा ‘महान् बन्ने मेरो रहर छैन तर देश र जनताप्रति जवाफदेही बन्ने उत्कट चाहना छ । नेपालको सिमानाभित्र बसोबास गर्ने सबै उमेर समूहका (बालबालिकादेखि वृद्धवृद्धासम्म) नेपाली वा विदेशी नागरिक वा विदेशी शरणार्थी सबका सबलाई पूरा डोज खोप नलगाइकन हामी भोट माग्न आउने छैनौँ । आयौँ भने हामीलाई भोट नहाले हुन्छ,’ लेखिएको छ ।
प्रधानमन्त्री देउवाले सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने प्रतिवद्धता संसद र सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आउनु भएपनि निर्वाचन र भोटको प्रसंग कहीँ पनि उल्लेख गर्नुभएको छैन ।