कांग्रेसको साउन १२ को वडा अधिवेशन स्थगित

भक्तपुर, साउन ९
नेपाली कांग्रेसको तल्लो निकायको अधिवेशन स्थगित भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शनिवार बसेको पार्टीका पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठकले साउन १२ गतेका लागि निर्धारण गरिएको वडा लगायतका सबै तहका अधिवेशन स्थगित गरेको हो ।
क्रियाशिल सदस्यता छानविनको काम सम्पन्न नभएकाले साउन १२ गते हुने भनिएको वडा इकाइ तहको अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो। समितिले समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने भएको छ ।
पार्टीको तल्लो तहको अधिवेशन कार्यतालिका प्रभावित भएपनि केन्द्रीय महाधिवेशन भने हेरफेर नहुने शर्माले बताउनुभयो । बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको बुझिएको छ ।
पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्नेलगायतका विकल्पमा समेत छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाण्डौंमा हुने गरी मिति तय तोकिएको छ ।