टोकियो ओलम्पिक – सुटिङकी कल्पनाले बनाईन राष्ट्रिय किर्तिमान, जुडोकी सोनिया पहिलो खेलमै पराजित

भक्तपुर, साउन ९
जापानमा जारी टोकियो ओलम्पिक २०२० मा शनिवार नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गरेका छन तर दुवै जना पहिलो चरणबाटै बाहिरिएका छन ।
ओलम्पिकमा नेपालकी कल्पना परियारले सुटिङको महिला १० मिहटर एयर राइफल इभेन्टमा प्रतिष्पर्धा गरेका थिए भने जुडोकी सोनिया भट्ट महिला ४८ के जी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
कल्पनाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरिन । उनले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् । उनले यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा आफैंले बनाएको ६ सय १४.५ स्कोरको राष्ट्रिय किर्तिमान तोडेकी हुन ।
कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी कल्पनाले अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।
आसाका सुटिङ रेन्जमा भएको खेलमा कल्पना समग्रमा ४६ औं स्थानमा रहन सफल भइन । इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र शरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् ।
छनोटबाट शिर्ष ८ मा रहने खेलाडीहरुले मात्र फाइनल खेल्न पाउने छन । छनोटमा नर्वेकी हेग दुस्तादले ६ सय ३२.९, दक्षिण कोरियाकी पार्क हिमुन ६३१.७, अमेरिकी मेरी टकर ६३१.४, दक्षिण कोरियाकै यूंजी क्वोन ६३०.९, फ्रान्सेली ओसिएन मुलर ६३०.७, चीनकी किआन याङ ६२८.७, स्विस निना क्रिस्तिएन र आरओसीकी अनास्तासिया गलाशिना ६२८.५ ले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । सोनिया राउण्ड अफ ३२ अन्तर्गतको खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।


१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।
सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।