पार्टी बनाउने की भत्काउने भन्ने नेतृत्वको जिम्मेवारी – एमाले वरिष्ठ नेता नेपाल

भक्तपुर, साउन ७
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपा पक्षीय युवा संघ नेपालले पिपुल्स भोलियन्टर (पिभी) घोषणा गरेको छ । युवा संघले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिवार भक्तपुरमा आयोजित कार्यक्रममा शिव श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय पिभी घोषणा गरेको हो ।
पिभी इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् । यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली पक्षीय युवा संघले हालै युथ फोर्स ब्युँताएपछि नेपाल पक्षले पनि पिभी ब्युँताएको हो । एमालेको आठौं महाधिवेशनले पिभी विघटन गरेको थियो ।
पिभी घोषणा गर्दै वरिष्ठ नेता नेपालले पार्टी बनाउने की भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हातमा हुने बताउनुभयो । उहाँले पार्टी नेतृत्वमा तानाशाह र हिटलर प्रबृत्ति मौलाएका कारण अहिलेको अबस्था आएको बताउनुभयो ।
उहाँले आफुहरुले पार्टीमा विभाजन नचाहेको तर गलत बाटोमा हिँडेको नेतृत्वलाई सही दिशामा हिँडाउने प्रयास गरेको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताउदै भन्नुभयो, ‘अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।’
अंहकारको घोडामा चढेका बादशाहलाई घोडावाट उतारेपछि मात्र बास्तविकताको ज्ञान हुने भन्दै उहाँले भन्नुभयो, ‘अहंकारको घोडामा चढेका बादशाहलाई घोडाबाट ओर्लिनु पर्दा कस्तो हुन्छ, देखियो ।’ कमजोरी सुधार गर्नेले मात्र सम्मान पाउनेमा जोड दिंदै नेता नेपालले नेतृत्वले गल्ती सुधारे मात्र एकता सम्भव हुनेसमेत खुलासा गर्नुभयो । नेता नेपालले पार्टी नेतृत्व गलत बाटोमा हिड्दा दुई तिहाइ बहुमत भएको आफ्नै पार्टीको सरकार ८३ जनामा खुम्चिएर खुस्कनु परेको टिप्पणी गर्नुभयो ।
पिपुल्स भोलुण्टिएर पार्टीको युवा दस्ताको रुपमा देश र जनताको सेवा गर्ने अभियानमा लाग्ने विश्वास व्यक्त गर्दै वरिष्ठ नेता नेपालले युवाहरु अध्ययनशील हुनुपर्ने र समाज परिवर्तनका पुस्तकहरु पढेर ज्ञानले भरिपूर्ण बन्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो । सत्ता र स्वार्थको भोक नभएका इमान्दार युवाहरु मात्र पिपुल्स भोलुण्टिएर बन्न सक्ने बताउदै नेता नेपालले सच्चा कम्युनिष्ट कार्यकर्ता बन्नु कठिन कार्य भएको र सबैको बशको विषय नभएको जिकिर गर्नुभयो ।
अप्ठ्यारो बेलामा आफ्नाको पहिचान हुने भन्दै उहाँले पार्टीमा सहि र गलतको कित्ता छुट्टिएको र युवाहरु गलतमा बदलीने नभई गलतलाई सहि तर्फ बदल्न सक्नुपर्ने बताउनुभयो । असल उत्तराधिकारी युवाबाटै जन्मनु पर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुदैन भन्ने पढेको र सिकेको बताउनुभयो ।
पार्टी भित्र भएका गल्ति कमिकमजोरीलाई समिक्षा गर्दै आत्माआचोचना गर्दै लागेको धूलो ट्कटक्याउदै फेरी उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरी कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दावी गर्नुभयो । नेता नेपालले पिभीमा संलग्न युवाहरुलाई जनताको मन जित्ने गरि काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् युवा संघका ईन्चार्ज रघुजी पन्तले माधव नेपाललाई गाली गर्न र पुत्ला जलाउन छाडेर नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको भविश्य युवाहरुको काँधमा रहेको भन्दै पिपुल्स भोलुण्टिएर सचेत युवाको संगठन प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो । सस्थापक महासचिव पुष्पलालले भने झैँ सिद्धान्त, संगठन र संघर्ष बाट बिचलित नबनी जनताको सेवामा लाग्न उहाँले पिभीलाई निर्देशन समेत दिनुभयो ।
उहाँले दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेर्न आग्रह गर्दै लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रममा युवा संघका अध्यक्ष नरेशकुमार शाहीले पिपुल्स भोलिएन्टर युवाहरुको वैचारिक प्लेटफार्म भएको दावी गर्दै विचार सही भए हतियार मात्र होइन, मिसायल विरुद्ध पनि लड्न सकिने बताउनुभयो ।
उहाँले माधव नेपाललाई सतिसालको संज्ञा दिँदैं हिजो गणतन्त्र स्थापनाको आन्दोलन र आज गणतन्त्र, संघीयता र संविधानको रक्षाका लागि नेता नेपालले ठूलो त्याग गरेको बताउनुभयो ।
नेकपा एमाले नेपाल पक्षका भक्तपुर अध्यक्ष रजन केसीले पिभीको घोषणा भक्तपुरमा हुनु भक्तपुर पार्टीको लागि ऐतिहासिक र उत्साहजनक रहेको बताउनुभयो । कार्यक्रममा रंजन मोहन सैंजूको नेतृत्वमा ५५ सदस्यीय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी र उमेश घोरासैनीको नेतृत्वमा पिभी भक्तपुरको समेत घोषणा गरिएको थियो ।