भक्तपुरका संगितकर्मीहरुले सम्झिए गायक अरुण थापा

भक्तपुर, साउन ६
कालजयी गीतमा गायक अरुण थापाको २२ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ भक्तपुरका संगितकर्मीहरुले उनलाई सम्झिएका छन । भक्तपुर सांगीतिक समाजले गायक थापाका गीतमार्फत उनलाई सझिएका हुन ।
भक्तपुरको दुधपाटीस्थित टिसा इनमा भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा सहभागी कलाकारहरुले स्व. थापाका गीतहरु गुनगुनाउनुका साथै उनको स्मृती जोडिएका विविध पक्षहरुबारे समेत विचार आदानप्रदान गरेका थिए ।
स्वर्गीय थापाले गाएको राष्ट्रिय गीत ‘करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल बोलको धुन’बाट शुरु भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले ‘तिमी राम राम भजी बाँच’ भन्ने कामना गरे भने वरिष्ठ गायक सत्यनारायण प्रजापतिले ‘चोट के हो ब्यथा के हो’ मार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाए ।
भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कस्पालले ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ’ मार्फत संगीतका बसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले ‘भुलु भुलु लाग्यो’ गाउँदै गायक थापालाई भुल्न दिएनन् ।
त्यसैगरी गायक कुबेर राइले ‘जति माया लाए पनि जति कसम खाएपनि’ बोलको गीत गाएर स्व. थापाप्रतिको माया झल्काए । गायक श्रीजल मधिकर्मीले ‘आँखाको निद’ बोलको गित गाएर स्व. थापालाई सम्झिए ।
कार्यक्रममा गायिका रोशिका देउजाले पनि ‘ऋतुहरु’मा प्रस्तुती दिईन् भने गायक सुनिल लोहलाले ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सुनाए ।

कार्यक्रममा किबोर्डमा वरिष्ठ संगीतकार कृष्ण सुन्दर सुखुजु, हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला, गितारमा सरोज केसी र तबलामा रोशन भासिमाले साथ् दिएका थिए ।
कार्यक्रममा स्व. थापाको कर्णप्रिय गीत ‘चोट के हो ब्यथा के हो’ का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीको पनि उपस्थिती थियो ।
भक्तपुर सांगीतिक समाजले स्व. गायक थापाको स्मृतीमा विगत ४ वर्षदेखि निरन्तर श्रद्धाञ्जली कार्यक्रम गर्दै आइरहेको छ । समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्य, किरण सुवाललगायतले स्व. थापाको जीवनका विविध पक्षबारे चर्चा गरेका थिए ।
कार्यक्रममा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको सफलताका लागि सम्मान समेत गरिएको थियो ।
गुडविल कन्सल्टको प्रायोजनमा सम्पन्न कार्यक्रममा फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको थियो । त्यसैगरी मिडिया पार्टनरमा भक्तपुर पोस्ट र जनसंचार टिभी रहेका थिए ।
वि. सं. २००८ सालमा जन्मिएका थापाको २२ वर्ष अघि २०५६ साल साउन ५ मा बागबजारमा देहान्त भएको हो । उनको भौतिक जीवन छोटो भएपनि सांगीतिक जीवन भने अजर अमर रहेको छ । उनले गाएको ‘ऋतुहरूमा तिमी’ बोलको गीत बिबिसीको सर्वेक्षणमा विश्वमा सातौं स्थानमा रहन सफल भएको थियो ।