नेपाली कांग्रेसमा डिजिटल मतदान प्रविधि तयार – प्रतिनिधिले जिल्लाबाटै केन्द्रीय नेतृत्व चयन गर्न सक्ने

भक्तपुर, साउन ५
नेपाली कांग्रेसले नेतृत्व चयनका लागि डिजिटल प्रविधि विकास गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले १४ औं महाधिवेशनलाई लक्षित गरी डिजिटल प्रविधिमार्फत महाधिवेशन प्रतिनिधिहरुले जिल्लाबाट मतदान गर्न सक्ने व्यवस्था गरेको हो । तर यसको प्रयोगका लागि केन्द्रीय समितिले अनुमोदन गरी स्विकृत गर्नुपर्ने छ ।
विभागका संयोजक एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’का लागि प्रविधि तयार गरिएको बताउनुभयो । विभागको आज (मंगलवार) सम्पन्न तेस्रो पुर्ण बैठकपछि जारी विज्ञप्तीमा कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाएको छ ।
विज्ञप्तीमा ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको’ उल्लेख छ ।
७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको उक्त प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको जनाएको छ ।
बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरेको र जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी बैठकले १४ औं महाधिवेशनको प्रचार प्रारम्भ गर्ने निर्णय गरेको छ । पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।
महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशिल सदस्यबीच पु¥याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।
विभागले पहिलोपटक कांग्रेसमा वेबसाइटमार्फत क्रियाशील सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) गर्ने काम गरेको थियो । कांग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाण्डौंमा हुँदैछ ।