भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत

जगत प्रजापति÷लक्ष्मी गारु, भक्तपुर, साउन ५
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरु भएको छ । जिल्ला, क्षेत्र र नगरसभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेला र कोठे बैठकलाई तिब्रता दिएका छन । स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेसको अधिवेशनबारे चर्चा परिचर्चा हुन थालेका छन ।
पार्टीको १३ औं अधिवेशनको दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए । कवे र खड्का कोइराला–पौडेल खेमा तथा थापा र चक्रधर देउवा खेमाका भएपनि एक आपसमा सहमति हुन नसक्दा चारै जनाले पहिलो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका थिए ।
तर कसैले पनि विधान बमोजिम ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा थापा र कवेबीच निर्वाचन भएको थियो । जसमा थापाले चक्रधर र खड्का समूहको सहयोगमा बाजी मारेको थियो ।
भक्तपुरमा कांग्रेसका विभिन्न समूह क्रियाशिल रहेको देखिन्छ । जसमध्ये पार्टी सभापति दुर्लभ थापा, अष्ट कवे, गणेशमान चक्रधर, कविर राणा, विनोद प्रसाद कायष्ठ, महेश श्रेष्ठलगायतको समूह जिल्लामा क्रियाशिल रहेको स्रोतले बताएका छन ।
कवे, श्रेष्ठ, राणा र कायष्ठ कोइराला–पौडेल समूहका हुन भने थापा र चक्रधर देउवा पक्षका हुन । यसका अलावा विभिन्न नेताहरुको उपसमूह पनि रहेको छ । जसको चलखेलले पनि जिल्लाको समिकरण र निर्वाचन परिणाममा बदलाव आउन सक्छ ।

केन्द्रको समिकरणले पनि जिल्लामा प्रभाव पार्ने भएकाले भक्तपुरमा क्रियाशिल समूहहरु मध्ये अहिले नै यस्तै समिकरण बन्ने छ भन्ने आंकलन गर्न नसकिने अवस्था छ । यद्यपी केन्द्रमा विकसित नयाँ नयाँ समिकरणसँगै नेतापुत्रत्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीचको बाक्लो हिमचिम र भेटघाटको असर जिल्लामा पनि परेको छ ।
स्रोतका अनुसार भक्तपुरमा कवे, श्रेष्ठ, राणा र कायष्ठबीच गठबन्धन हुने पक्का भएको छ । चक्रधर समूह पनि कवेसँग गठबन्धनको तयारीमा रहेको बुझिएको छ । चक्रधरको समूहमा रहेका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, चक्रधर र कवेलाई केन्द्रीय नेतृत्वले एक ठाउँमा उभिन सुल्झाएको स्रोतले बताए । यस्तो अवस्था आए यसपटक दुलर्भ थापाको टोलीले विभिन्न असन्तुष्ट समूह र स–साना उपसमूहलाई एकिकृत गरेर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ ।
यतिबेला सबै समूह आफ्नो रणनीति तय गरेर वडा र नगरसमितिका उम्मेदवार चयन गर्ने र नगरसभापतिसहित वडा वडाबाट प्रतिनिधि आफ्नो पक्षमा ल्याउने तयारी गरिरहेका छन ।
मध्यपुर थिमि नगरसमितिको सभापतिमा चक्रधरले यसअघि पराजित भएका हरिदास प्रजापतिलाई अघि सारेका छन । त्यसैगरी थापा समूहले अहिलेकै सभापति सुरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
कवेको समूहमा भने आकांक्षी धेरै भएकाले कसलाई अघि सार्ने भन्ने निक्र्यौल नभएको बुझिएको छ । यस समूहमा वडा नं. २ का वडाअध्यक्ष एवम् वडा सभापति राम थापा मगर, नगरसमिति सदस्य अनिल श्रेष्ठ, तरुण दलका पुर्वजिल्ला अध्यक्ष श्रीकृष्ण श्रेष्ठ सभापतिका आकांक्षी देखिएका छन । त्यसैगरी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले पनि नगरसभापति बन्ने आकांक्षा व्यक्त गरेका छन ।
यसै समूहमा श्रेष्ठले ओमप्रकाश श्रेष्ठलाई नगरसभापतिमा अघि सार्ने तयारी गरेको स्रोतले बताएको छ । यद्यपी कवे, श्रेष्ठ र चक्रधरको समूहबीच एकता भए यस समूहबाट मध्यपुर थिमिमा कवेले चाहेका व्यक्ति सभापतिका उम्मेदवार बन्ने बताईएको छ ।
स्रोतका अनुसार कोइराला–पौडेल खेमाले सूर्यविनायक नगरसभापतिमा कविर राणा समूहका रवि राणालाई उठाउने भएका छन । साविक अनन्तलिंगेश्वर नगर उपसभापति रहनुभएका राणा वरिष्ठ पत्रकार एवम् कांग्रेस नेता कविर राणाका भाई हुन । सूर्यविनायकमा कांग्रेस संस्थापन पक्ष देउवा खेमाका दुर्लभ समूहले जिल्ला सचिव निशान ढुंगेललाई उठाउने तयारी गरेको छ । ढुंगेल स्वयम्ले सभापति लड्ने इच्छा गरेका हुन ।
त्यसैगरी चाँगुनारायण नगरपालिकमा कोइराला–पौडेल खेमाबाट चक्रधर समूहका शिवहरी के सीलाई नै सभापतिमा दोहो¥याउने तयारी गरेको छ । के सी वडा नं. २ का वडाअध्यक्ष समेत हुन । थापा समूहले चाँगुनारायणमा साविक महामञ्जु श्री नगरकोट नगरसभापति यादव प्रसाद अधिकारीलाई उठाउने तयारी गरेको स्रोतले बताए । यस समूहबाट जनक खत्री पनि आकांक्षी रहेको स्रोतको भनाई छ ।
भक्तपुर नगर सभापतिमा थापा समूहले अहिलेकै सभापति राम अवाललाई अघि सार्ने तयारी गरेको छ । यहाँ कोइराला–पौडेल खेमाका कवे समूह कसलाई नगर सभापतिको उम्मेदवार बनाउने भन्ने बारे छलफल मै रहेको बुझिएको छ । यहाँ राणा र कायष्ठको पनि प्रभाव भएकाले तीनै पक्ष छलफलमा रहेको बताईएको छ ।
भक्तपुरमा प्रदेश सभा निर्वाचन क्षेत्र समिति र प्रतिनिधि सभा क्षेत्रीय समितिका आकांक्षीहरु खुलेर सार्वजनिक भएका छैनन् । जिल्ला सभापतिको उम्मेदवार बन्न कांग्रेसमा पहिला महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । अहिले नै जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्दा महाधिवेशन प्रतिनिधिमै पराजित हुने हो की भन्ने डरले नेताहरु खुल्न नचाहेको बताए पनि केही नेताहरु भने खुल्न थालेका छन ।
हाल महाधिवेशन प्रतिनिधि समेत रहनुभएका कवेले जिल्ला सभापतिमा उठ्ने जानकारी दिनुभयो । उहाँले त्यसका लागि वडा वडा र टोल टोलमा भेला र बैठक गरी तयारीलाई तिब्रता दिएको बताउनुभयो । उहाँले नगरका सभापतिहरुका लागि छलफल भइरहेको तर आकांक्षी धेरै भएका कारण टुंगो लाग्न बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरसभापतिका आकांक्षी धेरै छन । दुईचार दिनमा यसको पनि टुंगो लाग्छ । सकेसम्म छिटो निर्णय गर्ने योजना छ तर साथीहरुसँग छलफल भैरहको छ ।’
जिल्ला सभापति थापाले सभापतिमा दोहो¥याउने भन्दा पनि साथीहरुको सरसल्लाहमा तल्लो तहदेखि जिल्लासम्म सबै ठाउँमा सबै साथीहरुलाई समेटेर निर्विरोध गरी जाने योजनामा रहेको बताउनुभयो । यसका लागि व्यापक छलफल भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको विषम परिस्थितीमा निर्वाचन मार्फत भन्दा पनि सहमति र सहकार्यमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ । साथीहरु सकारात्मक छन ।’
उहाँले जिल्लामा समिकरणको कुरा हल्ला मात्र भएको दावी गर्दै सबैलाई समेत्ने गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो समूह र अरु जिल्ला स्तरिय नेताहरुको सुझावमा आफु सभापतिमा दोहो¥याउने वा नदोहो¥याउने निर्णय गर्ने बताउनुभयो ।
चक्रधरले पनि समिकरणको कुरा हल्ला मात्र भएको प्रतिक्रिया दिनुभयो । उहाँले समूहका साथीहरुको सहयोग भए जिल्ला सभापतिमा आउने इच्छा रहेको बताउनुभयो । पुर्व जिल्ला सभापति समेत रहनुभएका चक्रधरले नगरसभापतिको विषयमा उम्मेदवारी दर्ता गर्ने बेला मात्र टुंगो लाग्ने बताउनुभयो ।