प्रधानमन्त्री देउवाले संसदबाट आज विश्वासको मत लिने

भक्तपुर, साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिने भएको छ । त्यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने प्रस्तावमा छलफल गरी निणर्याथ पेश हुने बताईएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले धारा ७६ (६) अनुसार संसदबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभा बैठकअघि कांग्रेसको संसदीय दलको बैठक बस्ने छ । सो बैठकमा पार्टीको संसदीय भूमिका, विश्वासको मत लिन पार्टीमा ह्वीप जारी गर्ने तथा सरकारलाई प्रभावकारी बनाउने लगायत विषयमा छलफल हुने बताईएको छ ।
यसैगरी प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत लिन तयारी गरेपछि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदिय दलको बैठक बसेको छ । सो बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
यस्तै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको छ । सर्वोच्च अदालतले नेपाल पक्षका सांसदहरुको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको र विश्वासको मत दिँदा पार्टीको ह्वीप समेत नलाग्ने आदेश भएकाले नेपाल पक्षका सांसदहरुले विश्वासको मत दिने तयारी गरेको हो ।
देउवालाई विश्वासको मत नदिँदा सर्वोच्चको आदेश विपरित हुन जाने कानुन व्यवसायी र संवैधानिक कानुनका ज्ञाताहरुको विष्लेषणले गर्दा पनि नेपाल पक्षका सांसदहरुले विश्वासको मत दिने तयारी गरेको बुझिएको छ ।
नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउनुभयो । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भन्नुभयो ।
तर नेकपा एमालेका सचिव भीम आचार्यले भने एमाले विभाजित गर्ने षडयन्त्र अनुसार प्रधानमन्त्री देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको टिप्पणी गर्नुभएको छ । नेता आचार्यले एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको बताउनुभयो । ‘नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र अन्तरगत यो सब भइरहेको छ । जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं,’ उहाँले भन्नुभयो ।

नेकपा एमालेले विश्वासको मत नदिने

यसैबीच नेकपा एमालेको स्थायी समिति बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसद एमालेमा नरहने निर्णय गरेको छ । अध्यक्ष के पी शर्मा ओली पक्षका मात्र सहभागी स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै सो निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भन्नुभयो, नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा रहनुहुन्न । यो चाहिं प्रष्टै हो ।’
संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकतावद्ध भइहाल्छ कि भन्ने मनसायले हतार–हतार विश्वासकोमत लिन खोजेको ओली पक्षका नेताहरुको निष्कर्ष छ ।