बजेट पास नहुने भएपछि मुख्यमन्त्री पोखरेलद्धारा संसद बहिष्कार– मध्यराती संसद अधिवेशन अन्त्य

भक्तपुर, साउन १
लुम्बिनी प्रदेशमा बजेट पास नहुने भएपछि बिहिवार मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षले प्रदेश सभा बहिष्कार गरेका छन । प्रदेश सरकारले बिहिवार राती १२ बजेदेखी लागु हुनेगरी प्रदेश सभाको बैठक समेत अन्त्य गरेका छन ।
असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएकाले लुम्बिनी प्रदेश सरकार साउन १ गते शुक्रबारदेखि राज्यकोषबाट खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । प्रदेश सभाको अधिवेशन अन्त्य गरेकाले शुक्रवार नै अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष ०७७÷७८ को अन्तिम दिन बिहिवार बजेट पास गर्नका लागि बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदैं सहमतिमा बजेट पास गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले विश्वासको मत दिनुपर्ने विपक्षी दलको माग पुरा गर्न तयार रहेको बताउँदैं भन्नुभयो, ‘विश्वासको मत लिनुप¥यो भन्नुहुन्छ, त्यसका लागि म तयार छु । तर त्यस पछाडिको परिणाम के त ? त्यो तपाईं हामी सबै विचार गरौं ।’
बजेट पास गर्ने प्रक्रियामा जानु अघि एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटबारे सहमतिका लागि समय दिन सभामुखसँग माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दललहरुको राय पनि लिने बताउँदैं प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियालाई समय दिनुभयो ।
कनोडिया रोष्टममा बोलिरहँदा मुख्यमन्त्री पोखरेल बैठक छाडेर संसदबाट बाहिरिनुभयो । उहाँसँगै सत्तापक्षका सांसद मन्त्रीहरु पालैपालो उठेर हिँड्नुभयो र प्रदेश सभा सत्तापक्ष विहिन बन्यो ।
संसदमा सत्तापक्ष खाली भएपछि सभामुख घर्तीले सहमतिका लागि भन्दै आधा घण्टा संसद स्थगित गर्नुभयो । तर सहमतिका लागि बैठक नै बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर शुक्रबार १ बजेसम्मका लागि संसदको बैठक स्थगित भएको जानकारी दिए ।
विपक्षी गठबन्धनका नेताहरुले सरकार अल्पमतमा रहेको र अल्पमतको सरकारले पेश गरेको बजेट पास गर्न नसक्ने बताएका छन् । विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कनोडिया जबरजस्ती अल्पमतको सरकारले शासन गरिरहेको बताउँदैं भन्नुभयो, ‘उहाँलाई थाहा छ कि अल्पमतमा छौं । तर अल्पमतमा रहँदा बजेटमा पेश गर्छ, हामीलाई पास गर्न सहयोग गर भन्छ ।’ कनोडियाले सरकारलाई बहुमत भए बजेट पास गर्न र नभए राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी सोनामले बजेट पेश गरेर जवाफ दिइसकेपछि बैठक छाडेर हिड्नु सत्तारुढ दलको विचलन भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा छ की बहुमतका भन्ने विवाद एक महिनादेखी चल्दै आएको छ । ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् भने विपक्षमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।