कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै

भक्तपुर, साउन १
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पार्टी कार्यालय सानेपामा आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य छानविन गरी असारमसान्तसम्म टुंगो लगाउनु पर्ने समयसिमा तोकेको थियो तर केही जिल्लामा देखिएको विवादका कारण सकिएको छैन । त्यसैले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी स्वरुप पदाधिकारी र पुर्वपदाधिकारी बैठक बोलाएको कांग्रेसले जनाएको छ ।
यसअघि बैठक असार २९ गते मंगलवारका लागि बोलाएको थियो । तर सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै बदलिएको परिवेशका कारण बैठक आजका लागि तय गरेको हो ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको छ । त्यसका लागि साउन १२ गतेदेखी पार्टीको तल्लो निकायको अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
कांग्रेसको गत असार ४ गतेको केन्द्रीय समिति बैठकले साउन १२ गते गाउँ र नगरका वडा समितिको अधिवेशन, साउन १६ गते गाउँ र नगरपालिका अधिवेशन, साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गर्ने तय गरेको थियो ।