मध्यपुर थिमिको शंखधरचोकदेखी बोडेसम्म सम्पदा पदयात्रा

भक्तपुर, असार ३१
कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ । नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ । पार्कमा तीन धारे ढुंगेधारा निर्माण गरिएको छ । ठाउँठाउँमा हरिया दुवो रोपिएको छ । सिँढीले पार्कलाई थप आकर्षित बनाएको छ ।
बालकुमारी मन्दिरको दक्षिण पश्चिमतर्फको पोखरी जिर्ण अवस्थामा थियो । केही महिना अघि नगरपालिकाले यसको जिर्णाद्धारको थालनी ग¥यो । अहिले यसले पूर्णता पाउँदैछ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बिहिवार पोखरीको मुख्य प्रवेशद्धारमा गजुर पदस्थापन गर्नुभयो ।


त्यसैगरी वामुने टोलमा वामुने गणेशको मन्दिर पुनःनिर्माणको कार्य अन्तिम चरण रहेको छ । मन्दिरको गजुरमात्र राख्न बाँकी रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । यो मन्दिर गत बैशाख ११ गते पुनःनिर्माण शुरु गरिएको थियो ।
मध्यपुर थिमि नगरपालिका भित्र शंखधरपार्क, बालकुमारी पोखरी, वामुने गणेशको मन्दिरको मात्र होईन दर्जनौ मठमन्दिर, पाटी पौवा, पोखरी, ढुंगेधारा, बिहारजस्ता सम्पदाहरुको पुनःनिर्माण तथा जिर्णोद्धार र संरक्षणका कार्य भइरहेका छन ।


नगरपालिका जनप्रतिनिधि बहाल भएको चार वर्षमा ११३ वटा विभिन्न सम्पदा निर्माण तथा जिर्णाद्धारको काम भएका छन । ती मध्ये २३ वटा मन्दिर, ३७ वटा फल्चा (पाटी), २५ ढुंगेधारा, २० इनार, ५ बिहार र ३ वटा दरबार छन ।
नगरपालिकाले सम्पदा निमार्ण तथा जिर्णोद्धारमा चार वर्षमा ७५ करोड खर्च गरिसकेको र आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि थप ३५ करोड विनियोजन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले शंखधरचोकदेखी बोडेसम्म सप्पदा पदमार्ग विकास गरेको छ । सोही पदमार्गको प्रचार प्रसार र नगरका सम्पदाहरुको अवलोकन गराउन बिहिवार नगरपालिकाले पत्रकारहरुलाई सम्पदा पदयात्रा गराए । मध्यपुर थिमिमा भइरहेको पुनःनिर्माण र विकासका कार्यलाई स्थलगत अवलोकन गरेर अनुभुती गरौं भन्ने उद्देश्यले पत्रकारहरुलाई सम्पदा पदयात्रा आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


शंखधरचोकबाट शुरु भएको पदयात्रा शंखधरपार्क, बालकुमारी, वामुने टोल, विष्णुवीर, विष्णुकुन्ड, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, निगुपुखुः (दुई पोखरी) सिद्धिकाली मन्दिर परिसर, दिगु बहा, नगदेशहुँदै बोडेको कुमारी मन्दिर परिसर र पार्कमा पुगेर समापन भएको थियो ।
पदयात्राका क्रममा नगरप्रमुख श्रेष्ठले सम्पदा पदमार्गमा रहेका महत्वपूर्ण मन्दिर, पोखरी, फल्चा, ढुंगेधारा, बिहार, दरबार, पार्कको बारेमा जानकारी दिनुभएको थियो ।


पदयात्रामा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, नगरपालिकाका प्राविधिक ई. प्रेमलाल भासिमा, विभिन्न सञ्चारमाध्यमका करिव तीन दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

तस्विर सौजन्य ः रामगोपाल तमाखु