देउवा नेतृत्वको सरकारको पहिलो निर्णय–चैत्रभित्र सबै नेपालीलाई खोप

भक्तपुर, असार ३०
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको मंगलवार बेलुकी बसेको पहिलो बैठकले आगामी चैत्रभित्र तोकिएको उमेर पुगेका सबै नेपाली नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पहिलो निर्णयका रुपमा सो निर्णय गरिएको हो ।
बैठकले आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको ओली नेतृत्वको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
बैठकले महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय समेत गरेको कार्कीले बताउनुभयो ।
बैठकले सरकारको विभिन्न प्राथमिकता समेत निर्धारण गरेको छ । सरकारले शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ । त्यस्तै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय सरकारको उच्च प्राथमिकतामा परेको छ ।
सरकारले विकास निर्माण कार्यमा तीव्रता दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरणलाई प्रमुख दायित्वमा रुपमा निर्धारण गरेको छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ । त्यस्तै विपतको व्यवस्थापन, स्थानीय निर्वाचनलाई पनि प्राथमिकतामा राखेको छ ।