प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले लिए शपथ

भक्तपुर, असार २९
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा मंगलवार बेलुकी ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनु भएको हो ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सो अनुसार राष्ट्रपति भण्डारीले देउवालाई मंगलवार दिउँसो ३ बजेर ३९ मिनेटमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
तर नियुक्तिको भाषाप्रति असहमति जनाउँदैं देउवाले भाषा नसच्चिएसम्म शपथ नलिने अडान लिनुभएको थियो । त्यसैले साँझ ६ बजेका लागि तय भएको शपथ करिव अढाई घण्टा ढिलो भएको हो । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो । भाषा सच्याइएपछि देउवाले शपथ लिनुभएको राष्ट्रपति कार्यालय स्रोतले बताए ।


प्रधानमन्त्री देउवाले आजै चार जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बालकृष्ण खाँडलाई गृह, ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन, न्याय तथा संसदिय मामिला मन्त्री, पम्फा भुषाल उर्जा, जलस्रोत र सिचाई मन्त्री र जनार्दन शर्मा अर्थ मन्त्री नियुक्त गर्नुभएको हो । खाँड नेपाली कांग्रेस संसदिय दलका प्रमुख सचेतक समेत हुनुहुन्छ । खाँड र कार्की नेपाली कांग्रेस तथा भुषाल र शर्मा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनाईएको हो । नवनियुक्त चारै मन्त्रीले आजै शपथ लिनुभएको छ ।