चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिल विकास कार्यक्रमको शुरु

भक्तपुर, असार २९
चाँगुनारायण नगरपालिकको मेयर उद्यमशिल विकास कार्यक्रमको शुभारम्भ भएको छ । नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखासँगको समन्वयमा हाइट हाउस खाजाघरका सञ्चालक राधाकृष्ण घिमिरेलाई मंगलवार तीन लाख नगद उपलब्ध गराउँदैं सो कार्यक्रमको शुभारम्भ गरेको हो ।
चाँगुनारायण नपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निव्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुसार पहिलो लाभग्राहीको रुपमा खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता भई कार्यान्वयनको शुभारम्भ गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
सम्झौता अनुसार लाभग्राहीले पाँच वर्षमा उक्त रकम चुक्ता गर्नुपर्ने छ । समयावधीभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरेको खण्डमा नगरपालिकाले कालो सुचीमा समावेश गरी नगरका अन्य सेवा सुविधामा रोक लगाईने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारवाही गर्ने प्रावधान राखिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।
नगरपालिकाले महिला उद्यम, दलित र पिछिडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी पाँच वटा क्षेत्रमा उद्यमी बन्न चाहनेहरुलाई छनोट गरी, उद्यमी बन्ने तालिम निःशुल्क प्रदान गर्ने र तालिममा सहभागीहरुले प्रस्ताव गरेको उद्यमशिलताको कार्यक्रमका आधारमा छनोट गरी विना धितो निव्र्याजी ऋण दिने व्यवस्था गरिएको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २६२ जना यो कार्यक्रमको लागि छनोट भएका छन । कार्यक्रमका लागि आवेदन दिने १ हजार १२१ जनाले निवेदन दिएका थिए । ती मध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३९० जनालाई उद्यमशिलता तालिमका लागि छनोट गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो । तालिममा सहभागी मध्ये २९२ जनालाई छनोट गरी नगरपालिकाले नामावली नेपाल बैंकमा पठाएको र उनीहरुले प्रस्तुत गर्ने परियोजना प्रस्तावका आधारमा ऋण अनुदान दिने व्यवस्था गरिएको छ ।
त्यसका लागि नगरपालिकाले ३ करोड रुपैंया बैंकमा जम्मा गरिएको उहाँले बताउनुभयो । ‘यो वर्ष कार्यक्रमको शुरुवात गरेका छौं, कार्यविधि लगायतका तयारीले केही ढिलो हुन पुग्यो,’ उहाँले भन्नुभयो, ‘आगामी साउनमा कार्यक्रमले गति लिने र पहिलो चरणमा छनोट भएका २९२ जनाले लाभ लिने विश्वास लिएको छु ।’
कार्यक्रम अन्तर्गत नेपाल बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत व्याजमा ऋण उपलब्ध गराईने छ । सो व्याज मध्ये ऋणको विषयवस्तु अनुसार ५ वा ६ प्रतिशत नेपाल सरकार र राष्ट्र बैंकको अनुदानबाट व्यहोर्ने र बढीमा २ दशमलव ९८ प्रतिशत नगरपालिकाले व्यहोर्ने गरी कार्यविधि तयार गरिएको नेपाल बैंक कमलविनायक शाखाका प्रबन्धक विष्णुमान भैलले जानकारी दिनुभयो ।