तरुण दल भक्तपुरद्धारा टौमढीमा दिप प्रज्वलन

भक्तपुर, असार २९
सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल तरुण दल भक्तपुरले सोमवार साँझ भक्तपुरको टौमढीस्थित ङातापोल्हँ (पाँच तल्ले) मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरी मध्यावधी निर्वाचन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गरी बदर गरेको थियो । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई असार २९ गते साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको थियो ।


सर्वोच्चको फैसला संविधानवाद, लोकतन्त्र र जनचाहनाको पक्षमा आएको भन्दै दिप प्रज्वलन गरेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताउनुभयो ।
दिप प्रज्वलनपछि सम्वोधन गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतले जनताको माग अनुसार र संविधान अनुसार फैसला गरेको प्रतिक्रिया दिनुभयो । कांग्रेसले ओलीको असंवैधानिक कदमहरुको शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको स्मरण गराउँदैं उहाँले सर्वोच्चको पैmसलालाई सम्मान गरेर आत्मसात गर्न ओली र उनका कार्यकर्ताहरुलाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ओलीका साइबर स्यालहरु माइतीघरमा जम्मा भएर सर्वोच्च अदालत र संविधानको विरोध गरिरहेका छन । कांग्रेस र तरुण दल जहिले पनि सर्वोच्चको सम्मान गर्दछ । कसैले फैसलाको विरुद्धमा अशान्ति मच्चाए तरुण दल चुप लागेर बस्ने छैन । प्रतिकारमा उत्रन्छ ।’


टौमढीमा नेपालको झण्डासँगै नेपाली कांग्रेसको झण्डा निर्माणगरी सहभागीहरुले दिप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेल, भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, प्रदिप कार्की, रवि राणा, राजु पुरीलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।