डिभिजन वन भक्तपुर १४ लाख राहत वितरण गर्दै

भक्तपुर, असार २३
जंगली वन्यजन्तुले क्षति गरेका खाद्यान्न बाली र पशुधनको राहत वापत डिभिजन वन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष करिव १४ लाख रुपैंया वितरण गर्नेभएको छ । पिडितको माग र आवश्यक सिफारिसका आधारमा माग भएको रकम शिवपुरी वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट रकम निकासा भई आइसकेको र असार मसान्तभित्र वितरण गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले बताउनुभयो ।
यसवर्ष खाद्यान्न बालीतर्फ १३ लाख ४६ हजार २८८ रुपैंया र पशुधनतर्फ ४० हजार राहत वापत रकम वितरण गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसवर्ष खाद्यान्न बालीतर्फ १३८ जना र पशुधनतर्फ ४ जना किसानहरुले राहत पाउने भएका छन ।
वन कार्यालयले राहत सिफारिस समितिको सिफारिसको आधारमा राहत वितरण गर्दै आएको खनालले बताउनुभयो । यसवर्ष जंगली बँडेलले मकैलगायत तरकारी बाली नष्ट गरेको र चितुवाले खसी बाख्रा मारेको भनी प्राप्त सिफारिसको आधारमा राहत वितरण गर्न लागेको उहाँले बताउनुभयो ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, ध्वाँसे चितुवा, ब्वासो, जंगली कुकुर, जंगली बँडेल, अर्ना, मगरगोही, अजिंगर र गौरीगाईले बाली वा पशुधन तथा मानवको क्षति गरेमा क्षतिपुर्ती पाउने व्यवस्था गरेको छ ।
निर्देशिकाले मानवीय क्षति भएमा घाईतेलाई १० हजारदेखी २ लाखसम्म र मृत्यु हुनेलाई १० लाख राहत दिने व्यवस्था गरेको छ । त्यस्तै पशुधनतर्फ गाई भैंसीको हकमा बढीमा ३० हजार अन्यको हकमा १० सम्म राहत दिने व्यवस्था छ । खाद्यान्न बालीतर्फ क्षतिको अवस्था हेरी बढीमा १० हजारसम्म राहत दिने व्यवस्था रहेको छ ।
वन कार्यालयले स्थानीय तहको सिफारिस, प्रहरी प्रतिवेदन, सामुदायिक वन उपभोक्ता समितिको सिफारिस, पशू सेवा र कृषि सेवा सम्बन्धी प्राविधिकको मूल्यांकन प्रतिवेदनको आधारमा राहत दिने व्यवस्था छ ।