कोपा अमेरिका कप – इमिलियानोको उत्कृष्ट बचाउसँगै अर्जेन्टिना फाइनलमा

भक्तपुर, असार २३
टाईब्रेकरमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको बुधवार बिहान सम्पन्न खेलमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना कोलम्बियालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए । कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो ।
टाईब्रेकरमा पहिलो पेनाल्टी कोलम्वियाका जुआन कोर्डाडोले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेर खेल बराबरीमा ल्याए । डाभिन्सन सान्चेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदै कोलम्बियालाई अग्रता लिनबाट बञ्चित गरे । अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएपछि खेल पुनः बराबरी भयो ।


यारी मिनाको प्रहारलाई पनि मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्वियाको सम्भावना जीवित राखेको थियो । लोउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्वियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजेले विफल पार्दै अर्जेन्टिनालाई फाइनलमा पु¥याए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । तर, ६१ औं मिनेटमा लुइस डियाजको गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।


निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । कोपा अमेरिका कपमा निर्धारित समयमा खेल बराबरीमा सकिए सिधै टाईब्रेकरमा खेलको निर्णय गर्ने नियम रहेको छ । सो अनुसार भएको टाईब्रेकरमा अर्जेन्टिना ३–२ ले विजयी भयो ।
अर्जेन्टिनाले अब उपाधिका लागि ११ जुलाईमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग फाइनल खेल्न लागेको हो । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।