उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

भक्तपुर, असार २१
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार मंगलवारबाट नीजि तथा सवारी साधन सञ्चालनमा लगाएको जोर बिजोर प्रणाली खारेज गरिएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु चढाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो ।
यात्रुहरुले अनिर्वाय मास्क लगाउनुपर्ने, मास्क नलगाएका यात्रुलाई चढाउन नपाईने, चालक र सहचालकले अनिर्वाय मास्क, पञ्जा र भाइजर लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र अनिर्वायरुपमा सवारी साधन दैनिकरुपमा निसंक्रमित गर्नुपर्ने व्यवस्था गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जारी सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी स्थानीय ढुवानी बिहान ९ बजेदेखी ११ बजेसम्म र बेलुकी ४ बजेदेखी ७ बजेसम्म सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक कामको लागि काठमाण्डौं उपत्यका प्रवेश गर्नेहरुको हकमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा लामो, मध्यम तथा छोटो दुरीका नीजि र सार्वजनिक सवारी साधनहरु प्रवेश गर्ने दिनेभएको छ ।
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने र अन्य पसलहरुको हकमा भने साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा एक पटकमा बढीमा २५ जना सहभागी गराउने र पहिलो समूह परीक्षा हलबाट पुर्णरुपमा बाहिर गएपछि मात्र अर्को समूह भित्र प्रवेश गर्ने गरी तालिका मिलाउनु पर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जारी सूचनामा उल्लेख छ ।
होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । गोष्ठी, सेमिनार, तालिम, बैठक सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितीमा गर्नुपर्ने भए बढीमा २५ जना सहभागी हुने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आदेशमा सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, शैक्षिक संघ संस्था, डान्सबार, दोहरी, नाचघर, क्लव, पौडी पोखरी, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।
त्यस्तै खुल्ला स्थानमा मानिस भेला भई सभा सम्मेलन, जुलुश, भोजभतेर, जात्रा, महोत्सव गर्न पनि निषेध गरिएको छ । विवाह तथा व्रतबन्ध जस्ता सामुहिक कार्य पार्टी प्यालेसमा गर्न, पुजारीबाट हुने नित्यपुजा बाहेक धार्मिक गतिविधि गर्न निषेध गरिएको छ ।