माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने

भक्तपुर, असार २१
बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि विद्युत उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न लागेको हो । पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।
आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । त्यसका लागि आयोजनाले आइतबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलब २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
तामाकोशीको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोड्का लागि जिआइएस समेत चार्ज गरिएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आइतबारसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।
आयोजनाले असार मसान्तभित्रै अर्को एक युनिट सञ्चालनमा ल्याउने तयारी समेत गरेको जनाएको छ । आयोजनामा कुल ६ युनिट रहेका छन् ।
आयोजनाको शुरुआती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँ हाराहारी पुगेको छ । आयोजना तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको थियो ।
आयोजनाको सोमवार साँझ ४ बजे प्रधानमन्त्री के पी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसको सम्पूर्ण तयारी पुरा भएको छ ।
तामाकोशी पूर्णतया नेपाली लगानीमा तयार भएको सबैभन्दा ठूलोे आयोजना हो । यसको निर्माण करिव १० वर्ष अघि शुरु भएको हो । यसमा लगानी जुटाउन दोलाखा जिल्लाका सबै नागरिकलाई शेयर वितरण गरेको थियो ।