भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान

भक्तपुर, असार १८
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटागरी कुल ६४ वटा सिसि क्यामरा जडान गरिएको छ । भक्तपुर सिसि क्यामरा जडान समितिको पहलमा सो सिसि क्यामरा जडान गरिएको हो ।
समितिले भक्तपुरका विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रतिष्ठान र स्थानीय तहको आर्थिक सहयोगमा सो क्यामरा जडान गरिएको समितिका संयोजक एवम् भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।
क्यामरा जडानका लागि सूर्यविनायक नगरपालिकाले १० लाख, प्राइम बैंकले ५ लाख र अन्य विभिन्न संघसंस्थाबाट गरी कुल ८१ लाख २ हजार आर्थिक संकलन भएको समितिका कोषाध्यक्ष नविन प्रजापतिले जानकारी दिनुभयो ।
उहाँले अरनिको राजमार्गको जडिबुटी मनोहरा पुल – साँगा खण्डको करिव १३ किलोमिटर खण्डमा सिसि क्यामरा जडान गर्न करिव ६३ लाख रुपैंया खर्च भएको बताउनुभयो । ‘सिसि क्यामरा लगायतका सामग्री खरिदमा रु. ५६ लाख ४७ हजार र अन्य प्राविधिक र विविध सामग्री खरिदमा करिव ६ लाख ५० हजार खर्च भएको छ,’ उहाँले भन्नुभयो, ‘संकलित रकम मध्ये वचत भएको १८ लाख ७२ हजार रुपैंया समितिको नामको बैंँक खातामा रहेको छ ।’ उहाँले बाँकी रकमले भक्तपुरका व्यस्त र बढी भिडभाड हुने मुख्य चोकहरुमा थप सिसि क्यामरा जडान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।


सो सिसि क्यामरा जडानको उद्घाटन गर्दै महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानले अपराध नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रहरी भित्रपनि केही खराव प्रवत्तिका मानिस हुन सक्ने भन्दै त्यस्तो पाएको खण्डमा खबर गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी संगठनमा प्रहरीका आचरण लगायतका धेरै विषयमा सुधार भएको छ । अझै केही त्यस्ता व्यक्ति हुन सक्छन । त्यस्तो पाईयो भने माथिल्लो निकायमा खबर गर्न आग्रह गदर्छु ।’ उहाँले प्रहरी संगठनभित्र हुने भ्रष्टाचारमा धेरै कमी आएको दावी पनि गर्नुभयो ।


भक्तपुर प्रहरीले शान्ति सुरक्षा, कोभिड नियन्त्रण र निषेधाज्ञा पालना गराउने सवालमा उत्कृष्ट कार्य गरेको भन्दै उहाँले यसको सही मुल्यांकन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडकमा जडान गरिएका सिसि क्यामराले अपराध अनुसन्धानमा प्रहरीलाई सुक्ष्म तरिकाले अनुसन्धान गर्न र अपराधिक गतिविधि नियन्त्रणमा सहयोग हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले भक्तपुरको अर्को मुख्य सडक पेप्सीकोला मनोहरा पुलदेखी निकोशेरा हुँदैं कमलविनायक नगरकोट सडक, भक्तपुर प्रवेश गर्ने नाला, मुलपानी, बालकोटलगायतका नाकाहरु र जिल्लाका मुख्य मुख्य चोकहरुमा पनि सिसि क्यामरा जडान गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जडान गरिएका सिसि क्यामराको आवश्यक ममर्त सम्भारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले आफ्नो कार्यकालमा भक्तपुरमा अन्तिम कार्यक्रमको रुपमा सिसि क्यामरा जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले भक्तपुरमा आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्ने र कोरोना नियन्त्रण, निषेधाज्ञाको पालना गराउने कार्यमा प्रहरीले अहम् भूमिका निर्वाह गर्न सफल भएको दावी गर्नुभयो । उहाँ आफ्नो कार्यकाल पुरा गरी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा हुनुभएको छ ।


भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनु भएका सिसि क्यामरा जडान समितिका संयोजक प्रदिप श्रेष्ठले भक्तपुरलाई शान्त र सुरक्षित जिल्ला बनाउने अभियानमा प्रहरी र नागरिकबीचको सहकार्यको रुपमा सिसि क्यामरा जडान अभियान शुरु गरेको जानकारी दिनुभयो । शुरुमा चार जनाबीचको छलफलबाट शुरु भएको अभियानका दर्जनौ सहयोगी संघसंस्थाहरु जोडिनु आएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जारी निषेधाज्ञामा निर्माण सामग्री ढुवानीका लागि तोकिएको समयावधी व्यवहारिक नभएको भन्दै सो समयसिमा बढाएर राती ८ बजेदिखी बिहान ६ बजेसम्म निर्धारण गरिदिन प्रशासनसँग आग्रह गर्नुभयो ।
सो अवसरमा सिसि क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने मनकारी दाताहरु, प्राविधिक कर्मचारीहरु, प्रहरी कर्मचारीहरु र समितिका पदाधिकारी तथा सदस्यहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।