बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न

भक्तपुर, असार १७
बागमति प्रदेश सरकारको विकास निर्माणका योजना अन्तर्गत मध्यपुर थिमिमा विभिन्न योजनाहरु सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा रहेको छ । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माण कार्य अन्तर्गत मध्यपुर थिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पा मार्गको सुधार कार्य सम्पन्न भएको छ ।
बागमति प्रदेश सशर्त अनुदान कार्यक्रम अन्तर्गत २५ लाख रुपैंयाको लागतमा बाटो ढलान गर्ने कार्य सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदिप जामन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी मध्यपुर थिमि–२ को टि.आई.टि.आई. बाट वडा कार्यालय जाने १० मीटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याउने कार्य सम्पन्न भएको छ । करिव ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब ७ लाख रुपैंया संकलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताउनुभयो । उहाँले सो बाटोमा नगरस्तरीय बजेट मार्फत आगामी वर्ष कालोपत्रे गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
बागमति प्रदेशको सशर्त अनुदान कार्यक्रम अन्तर्गत नै मध्यपुर थिमि–१, लोकन्थलीका विभिन्न भित्रि बाटोहरुमा ढुंगा छाप्ने कार्य सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री ३ फिटदेखी ८ फिट चौडाका बाटोहरुमा करिव २५ लाखको लागतमा ढुंगा छाप्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरी प्रजापतिले जानकारी दिनुभयो । गतवर्ष सो क्षेत्रका बाटोमा ढुंगा छाप्ने कार्य भएको थियो । ढुंगा छपाई कार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीय रोशनभक्त श्रेष्ठले बताउनुभयो ।
बागमति प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुर थिमि नगरक्षेत्र भित्र एकदर्जन बढि ठाउ“मा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अति विपन्न आवाश निर्माणदेखि नारायण विलाश जोशी स्मृति भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले बताउनुभयो ।
प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रम अन्तर्गत मध्यपुर थिमिमा निर्माण भइरहेका अति विपन्न आवास कार्यक्रम अन्तर्गत ४ वटा १ तले घरको समेत निर्माण सम्पन्न भएको डा. श्रेष्ठले बताउनुभयो ।