आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,

काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको ‘आनन्दकुटी आइसोलेसन केन्द्र’लाई ‘चु जि च्यारिटी फाउण्डेशन’ ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको पहलमा सो सामग्री सहयोग प्राप्त भएको केन्द्रले जनाएको छ ।
त्यसैगरी सो केन्द्रलाई सिद्धार्थ बनस्थली इन्स्टिच्यूट ‘४७ व्याच समूह’ ले पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त समूहले केन्द्रलाई आवश्यक मास्क, पञ्जा, औषधि र सर्जिकलका सामानहरु सहयोग गरेको केन्द्रका सल्लाहकार एवम् भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले जानकारी दिनुभयो । सो अवसरमा ईन्टरनेशनल बुद्धिस्ट सोसाईटी लुम्बिनीलाई पनि एक थान अक्सिजन कन्सेन्टरेटर हस्तान्तरण गरिएको थियो ।


साथै यस आइसोलेसन केन्द्रलाई थुप्रै शुभेच्छुकहरुबाट पनि आर्थिक सहयोग प्राप्त भैरहेको छ । र हाल साधारण खालका कोविदका विरामीहरुले यहाँ उपचार पाई स्वास्थ्य लाभ पाइरहेका छन ।

काठमाण्डौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ मोडेल स्कूल अफ नर्सिंगको व्यवस्थापनमा सो केन्द्र गत जेठ २ गते देखी सञ्चालनमा आएको हो । यहाँ सबै सेवा सुविधा निःशुल्क व्यवस्था गरिएको छ ।