नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी

भक्तपुर, जेठ २०

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेई विरुद्ध २–० गोल अन्तरले पराजित गरेको छ । बिहिवार राती कुवेतमा सम्पन्न खेलमा नेपाललाई जिताउन अन्जनले पेनाल्टीमार्फत खेलको ४ औं मिनेटमा र नवयुगले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।
सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी  क्षेत्रभित्र ह्यान्ड गरेपछि  नेपालले खेलको तेस्रो पेनाल्टी पाएको थियो । अन्जनले सो पेनाल्टी प्रहारमा कुनै गल्ती नगरी नेपाललाई अग्रता दिलाएका हुन ।
खेलको ११ औं मिनेटमा ताइपेइले खेलमा फर्कने अवसर पाएको थियो । लामो फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट वु चुन चिङले प्रहार गरेको हेडबललाई कप्तान किरण चेम्जोङले सहजै बचाए । १६ औं मिनेटमा सन्तोषको लामो पासलाई सुनिल बलले ताईपेईको गोल पोष्टको दिशा दिएपनि गोलरक्षक शिह शिनले अगाडी आएर बचाए ।
सुनिलले २२ औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सटिक बन्न सकेन । २४ औं मिनेटमा अन्जनले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए । ३२ औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफमा नेपालले बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुन्ने प्रयास गरेको थियो । ताईपेईले पनि काउन्टर अट्याकमा आक्रमण बुन्दै नेपाली डिफेन्सलाई सहज अवस्था दिएको छैन ।
नेपालले मध्यान्तरमा पहिलो परिवर्तन गरेका थियो । सुनिल बलको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । खेलको ८१ औं मिनेटमा नवयुगको गोलले चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले सुमन अर्यालको क्रसमा उत्कृष्ट फ्लिक किक प्रहार गर्दै गोल गरेका हुन । खेलमा आक्रमक खेल पस्केको थियो ।