थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग

भक्तपुर, जेठ २०, सुनिता तुलाधर

थाइल्याण्डको राजपरिवारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाई रोयल एडका रूपमा ती स्वास्थ्य सामग्रीहरू काेराेनाकाे कहर भाेगीरहेकाे नेपाललाई सहयोग गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र नेपाली राजदूतावासमार्फत थाई नरेशलाई प्राप्त भएपछि थाई नरेश महावजिरलंकन फ्रा वजिरक्लावचावयुहुआ र महारानी सुथिदा वज्रसुविमलालाक्सनाले नेपाललाई सहयोग गर्न निर्देशन जारी गर्नुभएको थियो ।

सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पीपीई गाउन,१० हजार जोडी लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेस सिल, २० हजार थान एन्टिजेन किट, ६ सय थान पल्स अक्सिमिटर, १ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामग्री नेपाललाई उपलब्ध गराइएको छ । ती सामग्रीबाहेक थाई राजकुमारी वज्रकिटियाभा नरेनदिरादेव्यावतिले ७ हजार थान पीपीई गाउन उपलब्ध गराउनुभएको छ । यसका लागि थाइल्याण्डमा रहनुभएका नेपालका प्रा. डा. भिक्षु सुगन्ध महास्थविर र लुम्विनी विकास कोषका सदस्य सानुराज शाक्यले समेत विषेश पहल गर्नुभएको थियो ।

सो सामग्री नेपालका लागि थाई राजदुत भोसिता भोरसाफले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।