ग्रीक अक्षरबाट कोरोना भाइरसका नयाँ भेरियन्टको नामाकरण गर्ने डब्लुएचओको निर्णय

भक्तपुर, जेठ १८
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टको नयाँ नामाकरण गर्ने निर्णय गरेको छ । भाइरसका नयाँ नयाँ भेरियन्ट देखिन थालेपछि डब्लुएचओले नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गर्दै यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामाकरण गरेको हो ।
जहाँ कोरोनाको नयाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँको नामबाट चिनिने अहिलेको प्रणालीले स्थान विशेष विरुद्ध विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्लुएचओले पछिल्लो निर्णय गरेको बताईएको छ । नयाँ नामाकरण अनुसार अबदेखी यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा र भारतीय भेरियन्टलाई डेल्टा भनिने छ ।
डब्लुएचओकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले भेरियन्ट पत्ता लागेकै आधारमा कुनै पनि देशलाई अप्ठेरोमा पारिन नहुने बताउनुभयो । उहाँले संक्रमण बिस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताउनुभयो । अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन् । तिनका नामहरूको पूर्ण विवरण डब्लुएचओको वेबसाइटमा राखिएको छ ।
डब्लुएचओका अनुसार ग्रीक अक्षरहरुले ती भेरियन्टको वैज्ञानिक नामलाई विस्थापन भने नगर्ने जनाएको छ । कर्खोभका अनुसार २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिने भएकाले त्यसपछि नयाँ प्रणाली घोषणा गरिनेछ ।