कोपा अमेरिका कप ब्राजिलमा हुने

भक्तपुर, जेठ १८
कोपा अमेरिका कप फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ । बढ्दो राजनीतिक अस्थिरताका कारण कोलम्बिया र कोरोना संक्रमणका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबलले प्रतियोगिता ब्राजिलमा गर्ने निर्णय गरेको हो ।
कन्मेबलको विज्ञप्ति जारी गर्दै कोपा अमेरिका २०२१ ब्राजिलमा हुने जनाएको हो । कन्मेबलले प्रतियोगिता यसअघि निर्धारित मितिमा नै हुने जनाएको छ तर खेलस्थलका बारेमा भने उल्लेख गरेको छैन । विज्ञप्तिमा प्रतियोगिताको खेल तालिका र मैदान केही समयमा नै पक्का गर्ने बताएको छ । कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रहरुबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो ।
गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । अर्जेन्टिना र कोलम्वियाले कोपा अमेरिका आयोजना गर्ने तयारी गरिरहेको थियो । ब्राजिलले ४७औं पटक कोपा अमेरिका आयोजना गर्दैछ ।
ब्राजिल दुई वर्ष अघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराँउदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।