युरोकप २०२०– शानदार जितसँगै स्पेन र स्वीडेन अन्तिम १६ मा

भक्तपुर, असार १०
युरोकप २०२० अन्तर्गत समूह ई को अीनतम खेलमा स्पेन स्लोभाकियालाई ५–० हो फराकिलो जित निकाल्दै प्रिक्वाटर फाइनल अर्थात अन्तिम १६ मा प्रवेश गरेको छ । यसै समूहको अर्को खेलमा स्वीडेन पोल्यान्डलाई ३–२ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।


नकआउटमा प्रवेश गर्न जित्नै पर्ने दवाबमा रहेको स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट अग्रता लिए । खेलको ३० औं मिनेटमा डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए ।
यसअघि खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुकेको थियो । मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २–० ले अघि बढाएका थिए । स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लिअरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा थप आक्रामक देखिएको स्पेनले ५६ औं मिनेटमा तेस्रो गोल गरे । पाब्लो सराबियाले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसिङमा गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गोल गरेका थिए ।
फेरान टोरेसले खेलको ६७ औं मिनेटमा गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका टोरेसले कर्नरबाट बनेको कोके, सराबिया र पेड्रीले बनाएको आकर्षक मुभमा गोल गरेका थिए ।
खेलको ७१ औं मिनेटमा स्पेनले फेरी आत्मघाती गोल उपहार पाए । जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेन ५–० ले अघि बढ्यो । पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई कुच्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
यस जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै समूहमा दोस्रो हुँदैं अन्तिम १६ को यात्रा तय गरेको छ । अर्को खेलमा स्वीडेनले पोल्यान्डलाई ३–२ ले पराजित गरेपछि स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्वीडेन भने ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।


स्वीडेनलाई पोल्यान्डविरुद्ध जित दिलाउन एमिल फोर्सबर्गले २ र भिक्टर क्लेसनले एक गोल गरे भने पोल्यान्डका लागि लेवान्डोस्कीले २ गोल गरे ।
स्वीडेनका लागि एमिल फोर्सबर्गले खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा डिफेन्डर असफल भएपछि फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।
दोस्रो हाफको ५९ औं मिनेटमा फोर्सबर्गले व्यक्तिगत दोस्रो गर्दै २–० को अग्रता दिलाए । वैकल्पिक खेलाडी डेजान कुलुसेभ्सकीले अघि बढाएको आक्रमणलाई फोर्सबर्गले गोलमा परिणत गरेका थिए । कुलुसेभ्सकीले मैदानको बीच भागबाट अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र फोर्सबर्गलाई उपलब्ध गराएपछि लाइप्जिगका मिडफिल्डरले सटिक फिनिस गरेका थिए ।


लेवान्डोस्कीले त्यसको २ मिनेटपछि नै दर्शनीय गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रको बायाँ भागबाट उनले सुन्दर प्रहार गर्दै गोलरक्षक रोबिन ओल्सनलाई कुनै अवसर नै दिएनन् । ८४ औं मिनेटमा लेवान्डोस्कीले नै पोल्यान्डलाई बराबरीमा ल्याए । फ्रान्कोसकीको क्रसमा दुवै डिफेन्डर झुक्किन पुग्दा ६ यार्ड बक्स क्षेत्रभित्र एक्लै रहेका लेवान्डोस्कीले सहज फिनिस गरेका थिए ।
तर खेलको अन्तिम समयमा क्लेसनले गोल गर्दै स्वीडेनलाई जित दिलाए । इन्ज्युरी समयको चौंथो मिनेटमा युभेन्ट्सका फरवार्ड कुलुसेभ्सकीले पोल्यान्डको डिफेन्सलाई पुनः समस्यामा पार्दै दिएको पासमा क्लेसनले गोल गर्दै स्वीडेनलाई समूह विजेता बनाए ।