युरोकप २०२० – रोमाञ्चक बराबरीसँगै फ्रान्स, जर्मनी र पोचुर्गल अन्तिम १६ मा

भक्तपुर, असार १०
युरोकप २०२० अन्तर्गत समूह एफको बुधवार राती सम्पन्न रोमाञ्चक र कठिन बराबरीपछि विश्व विजेता फ्रान्स, साविक विजेता पोर्चुगल र पाँच पटकको विश्व विजेता जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ ।
हंगेरीको बुडापेस्टमा सम्पन्न रोमाञ्चक बराबरीपछि फ्रान्स र पोर्चुगल तथा एलिनाज स्टेडियममा सम्पन्न खेलमा जर्मनीले हंगेरीसँग बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा पोर्चुगलले फ्रान्ससँग र जर्मनीले हंगेरीसँग समान २–२ गोलको बराबरी खेलेका थिए ।
पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने फ्रान्सका लागि करिम बेन्जिमाले २ गोल गरे । खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।


पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पनि पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको हो । फ्रान्सका लागि बेन्जिमाको ५ वर्ष २ सय ५८ दिनपछि गोल हो । पछिल्लो पटक उनले फ्रान्सका लागि २०१५ को अक्टोबर ८ मा गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।
तर, ६० औं मिनेटमा रोनाल्डोले अर्को पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए । फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन् ।


यससँगै रोनाल्डोले पोर्चुगलका लागि अन्तर्राष्ट्रिय गोल संख्या १०९ पु¥याएको छ । उनले सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरे । यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् । रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् । फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र युरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए । जारी युरोमा रोनाल्डोको यो पाँचौ गोल हो । रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् ।


बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा नकआउटमा प्रवेश ग¥यो भने पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । यस समूहमा हंगरीसँग कठिन बराबरीपछि दोस्रो स्थानमा रहँदै नकआउटमा प्रवेश गरे ।
जर्मनी समूहमा दोस्रो हुनेक्रममा एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेलेको हो । रोमाञ्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले लिएको थियो ।
खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे । तर खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए । उनले हुमेल्सको पासमा गोल गरे ।

त्यसको दुई मिनेटमै खेलको ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए । हंगेरी जितका साथ नकआउटमा प्रवेश गर्न तरखर गर्दै गर्दा खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्का दृष्यमा देखिए । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको शक्तिशाली प्रहार दुई डिफेन्डर र गोलरक्षक गुलाक्सीलाई छिचोल्दै गोल भएको थियो । यस बराबरीसँगै हंगेरी समूह चरणबाटै बाहिरियो ।