नेपाली कांग्रेस भक्तपुरले क्रियाशिल सदस्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझायो

भक्तपुर, असार ९

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्लाको क्रियाशिल सदस्यको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सदस्य एवम् अभिलेख शाखा प्रमुख सुशिल बस्नेत, तरुण दल भक्तपुरका सदस्य सुमन कार्कीसहितको टोली पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर प्रतिवेदन बुझाएको हो ।
भक्तपुरमा कांग्रेसको क्रियाशिल सदस्य संख्या १० हजार २८६ पुगेको छ । ती मध्ये पुरानो नविकरण भएको संख्या ५ हजार १५६ र नयाँ क्रियाशिल सदस्य वितरण ५ हजार १३० रहेको जिल्ला अभिलेख शाखा प्रमुख सुशिल बस्नेतले बताउनुभयो । उहाँका अनुसार भक्तपुर क्षेत्र नं. १ मा ३ हजार ७८२ र क्षेत्र नं. २ मा ६ हजार ५०४ जना पुगेको छ ।
प्रतिवेदनका साथ क्रियाशिल सदस्य नविकरण र नयाँ वितरण प्रक्रियामा कांग्रेसको वडा इकाई समिति, नगर समिति, क्षेत्रीय समितिहरुले गरेका निर्णय पुस्तिकाको प्रतिलिपि, सिफारिस पत्रलगायतका कागजपत्र समेत बुझाएको बस्नेतले जानकारी दिनुभयो ।
भक्तपुरमा यसपटक क्रियाशिल सदस्यता वितरण र नविकरण विवाद रहित सम्पन्न भएको छ । विगतका अधिवेशनमा विशेषगरी नयाँ क्रियाशिल सदस्यता वितरणमा विवाद हुने गरेकोमा यसपटक क्रियाशिल सदस्यता बिस्तार गरी दोब्बर बनाउने पार्टी केन्द्रीय समितिको निर्णयले गर्दा नयाँ क्रियाशिल वितरणमा विवाद नदेखिएको कांग्रेसका नेताहरुको भनाई छ ।
विधानको नयाँ विवाद अनुसार वडा इकाइबाट छनोट हुने प्रतिनिधिहरुको संख्या समेत क्रियाशिल सदस्य संख्याको आधारमा हुने व्यवस्था र प्रतिनिधिहरुको संख्या बृद्धि भएकाले पनि जिल्लामा विवाद नभएको नेताहरुको भनाई छ ।