युरोकप – समूह विजेता बन्दै बेल्जियम र गोलअन्तरमा डेनमार्क अन्तिम १६ मा प्रवेश

भक्तपुर, असार ८
युरोकप २०२० मा बेल्जियम र नेदरल्यान्ड्स आ–आफ्नो समूहमा समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने डेनमार्क र अष्ट्रियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा सोमवार राती सम्पन्न खेलमा बेल्जियम फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गर्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमलाई समूह चरणमा शतप्रतिशत जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल आत्मघाती उपहार पाए ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा बेल्जियमले आत्मघाती गोलबाट अग्रता लिएको थियो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो । खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गरे ।
अर्को खेलमा डेनमार्क रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।


डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलले अग्रता लिए । उनले पिएरे इमिलको पासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २–० को बनाए । रुसका डिफेन्डरले दिएको ब्याक पासमा उनले गोल गरे ।
खेलको ७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३–१ को अग्रता दिलाए भने ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।
यस जितसँगै डेनमार्क भाग्यमानी सावित भए । अघिल्लो दुई खेलमा पराजय भोगेको डेनमार्क पहिलो जितसँगै गोल अन्तरमा फिनल्यान्डलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजय भोगेको थियो ।