युरोकप – क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल बराबरी

भक्तपुर, असार ५
युरोकप अन्तर्गत शुक्रवार राती सम्पन्न समूह डी का दुई खेल बराबरीमा टुंगिएको छ । समूहको दोस्रो चरणको पहिलो खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ को बराबरी खेल्यो ।
खेलमा चेकले अग्रता लिएको थियो । खेलको ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । सिकले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल गरेका थिए ।


क्रोएसियाले दोस्रो हाफको सुरुवातमा नै खेल बराबरीमा ल्याए । पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट फार पोस्टतर्फ गरेको प्रहार गर्दै सुन्दर गोल गरे । छोटो फ्रिकिकमा छरितो मुभ बनाएको क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए ।
प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले एकपछि अर्को आक्रमण बुनेको थियो । तर दुवै टोली फिनिसिङमा चुक्दा दुवै टोलीले थप गोल गर्न सकेन र खेल १–१ को बराबरीमा सकियो ।
त्यसैगरी यही समूहको अर्को खेलमा स्कटल्यान्ड र इंग्ल्यान्डले पनि गोल रहित बराबरी सकिएको छ । दुवै टोलीका केही अवसर खेर गएपछि खेल गोल रहित बराबरीमा सकिएको हो ।
खेलको ११ औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै माउन्टको प्रहारले पनि गोलको दिशा लिन सकेन ।

३० औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै स्कटल्यान्डलाई अग्रता लिनबाट रोके । स्कट ओ’डनलले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई पिकफर्डले दायाँतर्फ डाइभ दिँदै बचाएका थिए । त्यसै रिबाउन्डमा चे एडम्सले पनि बललाई पोष्टको दिशा दिन सकेन । इंग्ल्यान्डका डिफेन्डर रीस जेम्सले खेलको ६२ औं मिनेटमा गोललाइनबाट बल क्लियर गर्दै फेरी एक पटक स्कटल्यान्डलाई अग्रता लिन दिएन ।
यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहयो । चेक र इंग्ल्यान्डको समान ४–४ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड १–१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।