युरोकप – इमिल फोर्सबर्गको गोलमा स्विडेनको जित

भक्तपुर, असार ४
स्विडेनले स्लोभाकियालाई पराजित गर्दै १६ औं संस्करणको युरोकपमा पहिलो जित निकालेको छ । सेन्ट पिटर्सवर्गमा शुक्रवार सम्पन्न खेलमा स्विडेनले खेलको ७७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको हो ।
स्विडेनलाई जारी युरोकपमा पहिलो जित निकाल्न इमिल फोर्सबर्गले गोल गरे । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गोलरक्षक मार्टिन डुभ्रावकाले सही दिशामा डाइभ दिएपनि फोर्सवर्गले गोल गर्न सफल भए ।


स्लोभाकियाले खेलको तेस्रो मिनेटमा नै कप्तान मरेक हाम्सिकको कर्नरमा जुराज कुकाको हेडरमार्फत आक्रमणको शुरुवात गरेको थियो । तर हाम्सिकको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । स्विडेनले पनि १३औं मिनेटमा सेवास्टिन लार्सनको पासमा मिकाईल लस्टिगको प्रहार बाहिरिदा अग्रता लिनबाट चुकेको थियो ।
दोस्रो हाफको शुरुमै स्विडेनका एलेक्सान्डर इसाकले सुवर्ण अवसर पाएपनि उनले बल भेटाउन सकेन ५८औं मिनेटमा जुराज कुकाको फ्रिकिकमा हाम्सिकले गरेको हेडरलाई पञ्च गर्दै बचाएपनि उनी अफसाइड ठहरिएका थिए ।
६०औं मिनेटमा लार्सनकै पासमा मार्कुस ड्यानिल्सनले अवसर पाएपनि सदुपयोग हुन सकेन । ६१औं मिनेटमा इमिल फोर्सवर्ग र इसाकको समन्वयमा बनेको मुभलाई स्क्रिनिएरले विफल पारे ।
६७औं मिनेटमा इसाकले अर्काे अवसरलाई सदुपयोग गर्न नसक्दा स्वीडेनले अग्रता लिन सकेन । ७१औं मिनेटमा इसाकले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक मार्टिन डुभ्रावकाले सहजै नियन्त्रणमा लिए ।
समूह चरणमा स्विडेनको यो पहिलो जित हो । स्विडेनले यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । स्लोभाकियाको यो पहिलो हार हो । यसअघि स्लोभाकियाले पोल्यान्डलाई १–० ले स्तब्ध पारेको थियो ।