युरोकप – नेदरल्यान्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश

भक्तपुर, असार ४
नेदरल्यान्ड्स र बेल्जियम युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले बिहिवार राती सम्पन्न खेलमा अष्ट्रियामाथि २–० र बेल्जियमले एक गोलले पछि परेको स्थिती उल्ट्याउँदै डेनमार्कमाथि २–१ को जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
समूह सी खेलमा लगातार दोस्रो जित निकाल्नेक्रममा नेदरल्यान्ड्सले घरेलु मैदानमा खेलको ११ औं मिनेटमा मेम्फिस डिपाएको पेनाल्टी गोलमा अग्रता लिएको थियो । अष्ट्रियाका कप्तान डेविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राईजलाई लडाएको भिडियो असिस्टेन्ट रेफ्रीले देखेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गोलरक्षक बाक्म्यानले डिपाएको प्रहारको दिशा ठम्याएपनि रोक्न भने सकेनन् ।
खेलको ६७ औं मिनेटमा नेदरल्यान्ड्सले डम्फ्राइजको गोलमा अग्रता दोब्बर पा¥यो । वैकल्पिक खेलाडी डनि मालेनले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई अनमार्क रहेका डम्फ्राइजले पहिलो टचमा नै गोल गरेका थिए ।
जितसँगै नेदरल्यान्ड्सको समूहको अन्तिम खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड्स १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोली सन् २००८ को युरोमा समूह चरण पार गर्न सफल रहेको थियो । यसै समूहमा रहेको युक्रेन र अष्ट्रियाको ३–३ अंक छ । नर्थ म्यासेडोनिया भने अंकविहिन रहेको छ । अन्तिम चरणमा युक्रेन र अष्ट्रिया तथा नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया भिड्नेछन् ।
बेल्जियम २–१ ले विजयी


केभिन डे ब्रुएनको प्रभावशाली प्रदर्शनमा बेल्जियमले डेनमार्कलाई पराजित गर्दै अन्तिम खेल अगावै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बेल्जियमको जितमा थोर्गन हाजार्ड र ब्रुएनले गोल गरे । खेल बेल्जियमले जिते भने अग्रता भने डेनमार्कले लिएको थियो ।
दोस्रो हापमा मैदान प्रवेश गरेका ब्रुएनले ५५ औं मिनेटमा डेनमार्कको पेनाल्टी क्षेत्रभित्र संयमित भएर डिफेन्स लाइन तोड्दै दिएको पासमा हाजार्डले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरीमा ल्याएका थिए ।
यसअघि घरेलु मैदानमा दर्शकलाई खुसी बनाउँदैं डेनमार्कले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै युसुफ पाउल्सेनले गोल गरेका थिए । उनले पिएर एमिल होएबिएरको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।


खेलको ७१ औं मिनेटमा डे ब्रुएनले सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले इडेन हाजार्डको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अन्ततः खेलमा थप गोल भएन र बेल्जियम जित आत्मसाथ गर्दै नकआउट चरणमा प्रवेश ग¥यो ।
बेल्जियमले पहिलो हाफमा गोलको केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । डेनमार्कले पनि बेल्जियमलाई निरन्तर दवाब राखेको थियो तर गोल भने निकाल्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर डे ब्रुएनलाई मैदान प्रवेश गराउँदै खेलको रुप नै बदलेका थिए ।


डेनमार्कले ८७ औं मिनेटमा खेल बराबरी गर्न अवसर पाएपनि क्रसबार त्यसमा बाधक बन्यो । ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको हेडरमा कोर्टुवा निरिह बनेपनि क्रसबारले बेल्जियमको अग्रता जोगाएको थियो ।

यस जितसँगै बेल्जियम समूह बीको २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ । बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ । समूहमा फिनल्यान्ड र रसियाको समान ३–३ अंक छ । डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ ।