युरोकप – युक्रेनको पहिलो जित, म्यासेडोनिया २–१ ले पराजित

भक्तपुर, असार ३
युरोकप अन्तर्गत रोमानियाको नेसनल एरिनामा बिहिवार राती सम्पन्न खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा यो पहिलो जित हो ।
युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काएपनि खेलमा फर्काउन सकेन ।
यार्मोलेन्कोले खेलको २९ औं मिनेटमा गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । एलेक्सान्डर काराभाइवको पासमा उनले सहजै फिनिस गरेका थिए । ३४औं मिनेटमा यार्माेलेन्कोले पासमा रोमन यारेमचुकले अफसाइड बिट ट्रयापमा गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा कप्तान गोरान पाण्डभले गोल गरेपनि उनी अफसाइड ठहरिदा म्यासेडोनियाले गोल अन्तर घटाउन सकेन ।


खेलको ५७औं मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काउने संकेत दिए । एलेक्सान्डर ट्राजकोभ्स्कीको प्रहार क्रसबारमा लागेर फर्केपछि रिवाउन्डमा कप्तान गोरान पाण्डभले प्रहार गर्न खोजेका थिए । त्यसक्रममा काराइभले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै म्यासेडोनियालाई पेनाल्टी प्रदान गरे । इज्ग्जान एलिओस्कीको पेनाल्टीलाई गोलरक्षक जर्ज बुस्चाले बचाएपनि रिवाउन्डमा एलिओस्कीनै गोल गर्न सफल भए ।
यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।
यस जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।

नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । म्यासेडोनिया पुछारमा रहेको छ ।