सुरुङ बन्द हुँदा मेलम्ची आयोजनामा ठूलो दुर्घटना टर्यो

भक्तपुर, असार ३
मेलम्ची खानेपानी आयोजनाको सुरुङको प्राविधिक कार्यविधि (प्रोटोकल) पुरा गर्नका लागि मंगलवार बिहान सुरुङको ढोका बन्द गरिएकाले मेलम्ची आयोजना ठूलो दुर्घटनाबाट जोगिएको छ ।
प्रोटोकल पुरा गर्न सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि मंगलबार विहान ११ बजे सुरुङको ढोका बन्द गरी अम्बाथानबाठ खोलाको पानी खोलातर्फ नै पठाएको थियो । दिउँसो मेलम्ची खोलाको मुहान भेगमा ठूलो पहिरो गई खोलामा बाँध बन्यो र खोला थुनियो । खोला थुनिएको केही घण्टापछि बाँध फुट्यो र मेलम्चीमा भिषण बाढी आयो । त्यही बाढीले मंगलवार रातीदेखी मेलम्ची, हेलम्बु बजार क्षेत्रमा वितण्डा मच्चायो ।


बाढीले मेलम्ची आयोजनामा बाँध र बालुवा छान्ने संयन्त्र (डिसेन्डर) निर्माणमा जुटेका मजदुरहरुलाई बगाएको जनाएको छ । आयोजनाका अनुसार कम्तीमा ८ मजदुर हराएको छ । चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले आफ्ना तीन कामदार हराएको जानकारी दिएको छ भने हाइड्रोमेकानिकल गेटको काम गरिरहेको भारतीय कम्पनीले पनि ३ जना श्रमिक हराएको बताएको छ । स्थानीयले आयोजनामा काम गर्ने २ जना श्रमिक पनि सम्पर्कमा नआएको बताएका छन् ।
नेपाली सेनाले बुधवार हेलिकप्टरमार्फत आयोजनाका ७६ श्रमिकको उद्धार गरेर काठमाडौं र धुलिखेलमा पुर्याएको छ । बाढीले मेलम्चीको हेडवक्र्स क्षेत्रलाई ढुङ्गा, बालुवा र लेदोले पुरेको छ । बाँधमा कति क्षति पुर्याएको छ भन्ने यकीन भइसकेको छैन । तर, पानी प्रशोधन गर्ने संयन्त्रमा भने ठूलो क्षति नपुगेको आयोजनाका एक प्राविधिक अधिकारीले जानकारी दिए ।
आयोजनाले विज्ञप्ति नै जारी गरेर मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको जानकारी दिएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको बताएको छ ।
आयोजनाका एक प्राविधिकका अनुसार एक्कासी आएको बाढी सुरुङभित्र पसेको भए ठुलो क्षति हुन सक्थ्यो तर सम्भावित दुर्घटना संयोगले नै टरेको छ ।