युरोकप – इटाली अन्तिम १६ मा प्रवेश, वेल्ससँग टर्की २–० ले पराजित

भक्तपुर, असार ३
युरोकप अन्तर्गत बुधवार राती सम्पन्न खेलमा इटाली स्विटजरलयान्डलाई सहजै पराजित गरी प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । समूह ए को दोस्रो चरणको खेलमा इटाली स्विट्जरल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जारी प्रतियोगितामा अन्तिम १६ मा प्रवेश गर्ने इटाली पहिलो टोली बनेको छ ।
इटालीको जितमा म्यानुएल लोकाटेलीको दुई तथा चिरो इम्मोबिलेको एक गोल गरे । खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै बल बेरार्डीलाई बायाँ विंगमा दिएका थिए । बेरार्डीले विंगमा मुभ सिर्जना गर्दै दिएको बललाई लोकाटेलीले सहजै गोल गरेका थिए ।


त्यसअघि इटालीले कप्तान जिओर्जियो किएलिनीको गोल गरेका थिए तर त्यसलाई भीएआरले मान्यता दिएन । लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएपनि रिप्लेमा हातले छोएको स्पष्ट देखिएको थियो ।
दोस्रो हाफको ५२ औं मिनेटमा निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।
खेलको ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो । इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।
वेल्स २–० ले विजयी
त्यस्तै बुधवार राती नै सम्पन्न समूह ए को अर्को खेलमा वेल्सले टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । वेल्सका लागि राम्सीले ४२ औं मिनेटमा र इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गरेका थिए ।
राम्सीले ग्यारेथ बेलको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै फिनिस गरेका थिए । त्यसअघि उनले २४ औं मिनेटमा बेलकै पासमा गरेको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पनि पोस्टको दिशा लिन सकेको थिएन ।


खेलको ६० औं मिनेटमा वेल्सले पेनाल्टी पायो । जेकी चेलीकले पेनाल्टी क्षेत्रभित्र बेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर बेलको प्रहार पोस्टभन्दा निकै माथि गएपछि स्कोर १–० नै कायम रहयो । टर्कीले त्यसपछि लगातार आक्रमण गरेपनि गोलरक्षक वार्डले लगातार बचाउ गर्दै टर्कीलाई खेलमा फर्कन दिएनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे । उनले बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाड भएको अवस्थामा गोल गरेका थिए ।
समूह ए मा दोस्रो चरणको खेलको समाप्तिमा इटालीले २ खेलबाट ६ अंक बटुलेको छ भने वेल्सको ४, स्विट्जरल्यान्डको १ र टर्कीको शुन्य अंक रहेको छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ ।