सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न कांग्रेसको माग

भक्तपुर, असार २
नेपाली कांग्रेसले सूर्यविनायक नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न माग गरेको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले बुधवार नगरप्रमुख बासुदेव थापालाई ज्ञापनपत्र बुझाउँदैं आवश्यक परे विकास बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको हो ।
नगरबासी नै सुरक्षित नभए विकास कसका लागि भन्दै कांग्रेसले ज्ञापनपत्रमा ‘सूर्यविनायक नगरपालिकाको आगामी परिषदको पहिलो लक्ष्य कोभिड नियन्त्रण, स्वास्थ्य सामग्रीको व्यवस्थापन, स्थायी र भरपर्दो स्वास्थ्य सेवाका लागि आवश्यक परेमा विकासमा बजेट कटौती गरेर भएपनि रोग नियन्त्रणको लागि बजेट व्यवस्थापन लागि प्रयाप्त ध्यान दिन आग्रह गर्दछौं,’ उल्लेख गरिएको छ ।


त्यस्तै कांग्रेसले सूर्यविनायक नगरबासी सम्पुर्ण नागरिकलाई यथाशक्य छिटो कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । कोभिड १९ को पहिलो उपचार परीक्षण भएको उल्लेख गर्दै ज्ञापनपत्रमा सबै वडाहरुमा रहेको स्वास्थ्य केन्द्रको व्यवस्थापन, अन्तराष्ट्रिय स्वास्थ्य मापदण्ड बमोजिमको परीक्षण सामग्रीहरु, खोप लगायतको उपकरण भण्डारणको व्यवस्थापन, उच्चस्तरिय ल्यावको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेसले नगरका सार्वजनिक पर्ती जग्गाहरुको अतिक्रमण बढ्दै गएकाले तत्काल पर्ती जग्गाहरुको संरक्षणका लागि ठोस कदम चाल्न माग समेत गरेको छ । वर्षात र खेतीवातीको मौसम शुरु भएको र असारको बेलापनि किसानहरु मल, बिऊविजनको अभावले भौतारिनु परेको भन्दै कांग्रेसले तत्काल मल, बिऊविजनको उचित व्यवस्था गर्न माग गरेको छ ।
कांग्रेसले कोभिडको तेस्रो लहर आउन सक्ने खतरा रहेको र तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने विज्ञहरुको भनाई रहेको भन्दै बालबालिकालाई कोभिडको तेस्रो लहरबाट जोगाउन अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा बालबालिकाहरुको लागि विषेश वार्ड व्यवस्था गर्न माग गरेको छ ।


ज्ञापनपत्रमा कांग्रेसले कोभिड नियन्त्रणमा हरदम सहयोग गर्नुहुने नगरबासी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चार क्षेत्र र नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सबैलाई धन्यवाद दिँदैं कोरोना महामारीको विषम परिस्थितीमा राजनीतिक, सामाजिक र अन्य विषयमा रहेका असहमतिलाई थाँती राखी कांग्रेस हरतरहले साथ सहयोग दिन तयार रहेको पनि उल्लेख गरेको छ ।
कांग्रेसले नगरपालिकाले फरक मत राख्ने राजनैतिक दलको उपस्थिती आवश्यक नठानेको, जायज माग र आवाजलाई समेत महत्व नदिएको आरोप समेत लगाएको छ ।
ज्ञापनपत्र बुझाउन कांग्रेस सूर्यविनायक नगरसभापति बालकृष्ण थापा र नेपाली कांग्रेसबाट नगरप्रमुखका प्रत्याशी उम्मेदवार विष्णुराज कार्कीको नेतृत्वमा नेताहरु कविर राणा, अनन्त खड्कालगायतका नेता कार्यकर्ताहरु नगरपालिका कार्यालय पुगेका थिए ।